हेटौंडाः हेटौंडा उपमहानगरपालिका भित्र हुन लागेको दुई वटा बाल विवाह रोकिएको छ । हेटौंडा उपमहानगरपालिका–१९ र हेटौंडा–५ मा बालविवाह हुन लागेको बाल हेल्पलाइनमा जानकारी आएपछि बालविवाह रोकिएको सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
हेटौंडा–१९ मा १४ वर्षीया बालिका र १७ वर्षीय बालक बीच हुन लागेको बालविवाह रोकिएको उहाँले जानकारी दिनुभयो । उनीहरुको परिवारसहित वडा कार्यालयमा छलफल गरेर विवाह रोक्न सफल भएको उहाँले बताउनुभयो । उनीहरुले २० वर्षपछि मात्रै विवाह गर्ने प्रतिबद्धता जनाएका छन् । बालबालिकाले अहिले पढाइलाई निरन्तरता दिने उहाँले बताउनुभयो । अभिभावकसँगको छलफलको क्रममा अभिभावकले बालबालिकाको विषयमा त्यति चासो नदिएको उहाँको भनाइ छ । छिमेकीको छोरी घरमा आएर बस्दा पनि वास्ता नगरेको, किन घरमा आएकी भनेर समेत नसोधेको छलफलमा आएको छ ।
यस्तै, हेटौंडा–५ मा हुन लागेको बालविवाहमा बालिका १६ वर्ष र बालक १८ वर्षको रहेको उहाँले बताउनुभयो । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ निवासी बालिका बालश्रम गर्न हेटौंडा आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालिका हेटौंडाको कपडा पसलमा काम गर्दै आएकी थिइन् । बालक होटलमा काम गर्ने रहेछन् । उनीहरु बीच प्रेम सम्बन्ध भएपछि विवाह गर्न लागेका हुन् ।” राक्सिराङ निवासी बालिकाको पारिवारिक अवस्था राम्रो भएको भन्दै उहाँले बालकको भने कान्छिआमा मात्रै रहेको र बुबा विदेश गएकोले पारिवारिक माया नपाएको बताउनुभयो ।
दुबै बालबालिकाहरुलाई परिवारसहित वडा कार्यालयमा जम्मा गराएर बालविवाहको बारेमा जानकारी गराएको उहाँले बताउनुभयो । यस्तै, बालविवाह, बलात्कार, बालश्रमको विषयमा कानूनमा भएको व्यवस्थाको बारेमा जानकारी गराइएको थियो । छलफलपछि उनीहरुले २० वर्ष नपुगी विवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । दुबै बालिकाहरुलाई बाल हेल्पलाइनमा एक हप्ता राखेर सहजीकरण गरी परिवारलाई जिम्मा लगाइएको छ । उनीहरुले अब पढाइलाई निरन्तरता दिने र नियमित विद्यालय जाने प्रतिबद्धता जनाएका छन् । दुबै बालबालिकाको परिवारले समेत हेटौंडा उपमहानगरपालिकाको बालमैत्री हेटौंडा घोषणा गर्ने अभियानमा सहयोग गर्ने बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को कार्यालयमा भएको छलफलमा वडा अध्यक्ष नरनाथ सुवेदी लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तै, हेटौंडा वडा नम्बर ५ को कार्यालयमा भएको छलफलमा वडा अध्यक्ष सुशील घिमिरे, वडा सदस्यहरु रंजिता सिलवाल, राम बहादुर राईलगायतको उपस्थिति रहेको थियो ।