हेटौंडाः मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका कुकुरहरुलाई निःशुल्क रेविजको खोप लगाउन सुरु गरिएको छ । हालसम्म गाउँपालिकाको वडा नम्बर १ र २ मा रेविज खोप कार्यक्रम सम्पन्न भईसकेको पशु विकास शाखाका प्रमुख नविन अधिकारीले जानकारी दिनुभयो ।
इन्द्रसरोबर गाउँपालिकामा एकसय ६५ वटा कुकुरलाई रेविजको भ्याक्सीन लगाईएको छ । आइतबार वडा नम्बर १ मा ९० वटा कुकुरहरुलाई खोप लगाईएको छ । त्यस्तै, सोमबार वडा नम्बर २ मा ७५ वटा कुकुरहरुमा खोप लगाईएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी आज तेस्रो दिन वडा नम्बर ३ मा रेविज खोप कार्यक्रम संचालन भईरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन भईरहेको निःशु्ल्क रेविज खोप गाउँपालिकाको ५ वटै वडामा संचालन हुने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले करिब एक हजार कुकुरलाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । निःशुल्क रेविज खोप कार्यक्रम माघ २७ गतेसम्म हुनेछ । निःशुल्क रेविज खोप भ्याक्सिनेसन कार्यक्रम इन्द्रसरोवर गाउँपालिका पशु विकास शाखाको आयोजनामा भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।