हेटौंडाः बागमती प्रदेशसभाको पाँचौ वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्ष तथा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
संघीयता लागू भएसँगै २०७४ माघ १८ गते बागमती प्रदेशसभाको पहिलो बैठक बसेको थियो । बागमती प्रदेशसभाले हालसम्म ७० वटा कानुन बनाएको छ । यसबीचमा २ सय ६२ पटक प्रदेशसभाको बैठक बसेको छ । प्रदेशको राजधानी हेटौंडा कायम गर्ने निर्णय गरिएको छ भने प्रदेशको नाम बागमती राखिएको छ ।
कार्यक्रममा सभामुख पाठकले आफू सशक्त र नमुना प्रदेश स्थापना गर्न निरन्तर लाग्ने बताउनुभएको छ । प्रदेशसभा सञ्चालनमा निष्पक्ष, स्वतन्त्र र पारदर्शिता आफ्नो प्राथमिकता हुने उहाँको भनाइ छ । संसद विभिन्न सिद्धान्त र दृष्टिकोणको प्रतिनिधित्व थलो रहेको बताउनुहुँदै उहाँले सबै राजनीतिक दलका सांसदहरुले सशक्तरुपमा आफ्नो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेशमा अझै १२ वटा कानुन आवश्यक पर्ने अध्ययनले देखिएको उहाँले बताउनुभयो ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले समतामूलक र समृद्ध राष्ट्र निर्माणमा सांसदहरुको भूमिका रहने बताउनुभयो । संघीयतापछि बागमती प्रदेशले धेरै कामको सुरुवात गरिसकेको र अब बाँकी काम पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशसभाको विगतको अनुभव र नयाँ सुझावअनुसार काम गर्ने बताउनुभएको छ । प्रदेशको राजधानी र संघीय राजधानी जोड्ने सडकखण्ड अहिलेसम्म पनि बन्न नसकेको भन्दै उहाँले अब चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो । फाखेल–हुमाने सडकखण्ड निर्माण कार्यलाई पनि अगाडि बढाएको मुख्यन्त्री जमकट्टेलले बताउनुभयो । उहाँले ३ महिनाभित्र काम सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको बताउनुभयो ।
अहिलेको विकासको मोडेल टुक्रे मोडेल भएकाले परिणाम नदिएको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठेको उहाँले बताउनुभयो । उहाँले विकास नयाँ मोडेलबाट गर्नुपर्ने बताउनुभयो । अहिले बागमती प्रदेश सरकारले आफ्नो प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिको काम अगाडि बढाइरहेको मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । बागमती प्रदेशसभाका निवर्तमान सानुकुमार श्रेष्ठले प्रदेशसभाको चुनौतीलाई सबैले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिकरुपमा आत्मनिर्भर रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जनतालाई अनुभूत हुने गरी काम गर्न नसक्दा अहिले प्रदेशको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रदेशका लागि थुपै ऐन र कानुनहरु बनाउन आवश्यक थियो । ऐन र कानुनहरु नबनी काम गर्न सक्ने अवस्था थिएन । यसका बाबजुद पनि उल्लेखनीय काम ग¥यौं ।’ उहाँले प्रदेशसभालाई प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुर सिंह लामाले प्रदेशको औचित्यमाथि उठेको प्रश्नको जवाफ सबैले दिनुपर्ने बताउनुभयो । कानुन र विधेयकमात्र ल्याएर नहुने र त्यसलाई कार्यन्वयन पनि गर्नुपर्ने उहाँले बताउनुभयो । अब योजना बनाउँदा टुक्रे नभई देखिने योजना बनाउनुपर्ने लामाले बताउनुभयो । योजना बनाउने तर कार्यन्वयन हुन नसकिरहेको उहाँले बताउनुभयो । विगतमा सुरुङमार्गसम्मको योजना आएको तर नियमित आवतजावत गर्नुपर्ने सडकसमेत बन्न नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले अबको कार्यकालमा प्रतिपक्ष र सत्तापक्ष भनेर भन्दा पनि प्रदेशको अनुभूति हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभाले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । मर्यादापालक धु्रवबाबु दुवाडी, कार्यालय सहयोगी पार्वती श्रेष्ठ, कर्मचारीहरु चन्द्रप्रसाद घिमिरे, धिरज ढकाल र वर्तमान संघीय संसदका उपसचिव अधिराज राईलाई नगदसहित सम्मान गरिएको छ ।