नेपालमा गाँजा र अफिमलाई लागूपदार्थको रुपमा लिने गरिन्छ । प्रतिबन्धित लागूपदार्थ भएकाले यसको खेती गर्न पाइँदैन । खेती नै गर्न नपाएपछि ओसारपसार, बेचविखन र सेवन गर्ने कुरै भएन । तर, गैरकानुनी गाँजा तथा अफिमको खेती वर्षेनि हुने गरेको छ । गाँजा खेती बढी हुने जिल्लामा मकवानपुर पनि अग्रस्थानमै पर्दछ । विगतको तुलनामा गाँजा खेती निकै कम भए पनि यसको अन्त्य हुन सकेको छैन । पछिल्लो समय गाँजालाई बैधानिकता दिने बहस र चर्चा चलिरहेको अवस्थामा गाँजा खेती मौलाउने सम्भावना बढेको छ । गाँजा तथा अफिमको खेती गैरकानुनी भएकै कारण प्रहरी प्रशासनले यसको खेती फडानी गर्दै आएको पाइन्छ । प्रहरीले थोरै परिमाणमा गाँजा ओसारपसार गरेको, बेचविखन गरेको वा आफूसँग राखेको फेला पारेमा पक्राउ गरेर मुद्धा चलाउने गरेको भए पनि बिघौं बिघा जमिनमा गाँजा तथा अफिम खेती गर्दा फडानी गरेरमात्र छाड्नुलाई अर्थपूर्णरुपमा हेर्ने गरिएको छ । गाँजा तथा अफिम खेती गैरकानुनी हो भने यसको खेती गर्नेलाई पनि पक्राउ गरेर किन कानुनी कारबाही नगरिएको हो ? बुझ्न सकिरहेको छैन ।

विश्वका कतिपय देशमा गाँजालाई बैधानिकता दिएर यसको खेती तथा उपयोगलाई व्यवस्थित बनाइएको छ । नेपालमा पनि गाँजा खेतीलाई बैधानिकता दिनुपर्ने आवाज उठिरहेको समयमा प्रहरीले यस वर्ष पनि गाँजा तथा अफिम खेती नष्ट गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ तथा कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम फाँडेर नष्ट गरेको छ । प्रहरीले तीन दिनमा १ सय ३० बिगाह जमिनमा लगाइएको अफिम र २८ बिगाह १० कठ्ठा जमिनमा लगाइएको गाँजा फडानी गरेको बताएको छ । प्रहरीले माघ १४ गते राक्सिराङ गाउँपालिका–७ मा २० बिगाह अफिम र १ बिगाह गाँजा खेती फडानी गरेको छ । माघ १५ गते राक्सिराङकै ६ र ७ नम्बर वडामा ४१ बिगाह अफिम र २१ बिगाह गाँजा खेती फडानी गरेको छ । माघ १६ गते सोमबार राक्सिराङ–७ मै १४ बिगाह अफिम र ६ बिगाह १० कठ्ठा गाँजा खेती फडानी गरिएको छ । यस्तै, प्रहरीको अर्को टोलीले माघ १४ गते कैलाश गाउँपालिका–७ मा १५ बिगाहमा लगाइएको अफिम फडानी गरेको छ भने माघ १५ गते कैलाशकै वडा नम्बर ७ र ८ मा २० बिगाह अफिम खेती फडानी गरेको छ । सोमबार राक्सिराङ–४ मा प्रहरीले २० विगाह अफिम खेती फडानी गरेको छ ।

गाँजा तथा अफिम खेती नियन्त्रणका लागि प्रहरी प्रशासनले वर्षेनि फडानी तथा अन्य कारबाही गर्दै आए पनि गाँजा तथा अफिम खेती अन्त्य हुन सकेको छैन । किसानको चाँडै धनी बन्ने चाहना र गाँजाको बैकल्पिक खेतीका लागि प्रोत्साहन नहुनुले गाँजा तथा अफिम खेती बढी हुने गरेको मान्न सकिन्छ । अर्कोतिर, प्रहरी प्रशासनको कमजोर उपस्थिति र मिलेमतोमा पनि गाँजा खेती गर्नेलाई प्रोत्साहित गरिरहेको हुनसक्छ । कृषिमा आवश्यक श्रमशक्ति कमी हुँदै गएको र कतिपय किसानले गाँजा खेतीको विकल्पमा अन्य खेतीमा जोड दिएका कारण गाँजा खेती कम भएको हो । विकट ग्रामीण भेगमा लगाइएको गाँजा तथा अफिम नष्ट गर्ने अभियान पनि प्रभावकारी बन्न नसकेको आरोप लाग्ने गरेको छ । प्रहरीको अभियानले सबैतिर लगाएको गाँजा तथा अफिम फडानी हुन नसकेको पाइन्छ । प्रहरीले सबै क्षेत्रको गाँजा तथा अफिम खेती फडानी गर्न नसकेकै कारण गाँजा खेतीप्रति आकर्षण हटेको छैन भने गाँजाको बिक्री वितरण भइरहेकै छ ।

गाँजा तथा अफिम खेती अन्त्य गर्न यसको खेती गर्ने किसानलाई उचित विकल्प दिनुपर्छ । सरकारले उचित विकल्प दिइसेकेपछि यसको खेती पूर्णरुपमा अन्त्य गरिनुपर्छ । प्रहरी प्रशासनले सूक्ष्म निगरानी राखेर सबैतिरको गाँजा तथा अफिम खेती फडानी गर्नुपर्छ । गाँजा खेती फडानीका साथसाथै गाँजा खेती गर्ने व्यक्तिलाई पक्राउ गरेर कानुनी कारबाही गरिनुपर्छ । किसानलाई उचित विकल्प दिन सकेमा स्थानीय तहसँगको सहकार्यमा गाँजा खेती पूर्णरुपमा नष्ट तथा अन्त्य गर्न गाह्रो नहोला ।