वृक्षरोपण गर्नुहुँदै नगरप्रमुख लामा ।

हेटौंडाः हेटौंडा–५, क्याम्पाडाँडामा सोमबार वृक्षरोपण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको उपस्थितिमा वृक्षरोपण गरिएको हो । हरित नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्ने लक्ष्यसहित नगरप्रमुख लामाले कान्तिलोकपथ अन्तर्गत हेटौंडा–चौघडा सडकखण्डको क्याम्पाडाँडामा वृक्षरोपण गर्नुभएको हो ।

हेटौंडा–५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छाडेको जमिनको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी वृक्षरोपण गरिएको हो । सडक किनारमा हेर्दा आकर्षक देखिने धुपी तथा गुलमोहर फुलको बिरुवा रोपिएको छ । नगरलाई सुन्दर बनाउनका लागि हरेक महिना वृक्षरोपण अभियान र हरेक साता “सफा हेटौंडा अभियान” उपमहानगरले सञ्चालन गरिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशव देवकोटाका अनुसार हरेक महिना फरक/फरक ठाउँमा वृक्षरोपणको अभियान पनि सञ्चालन गरेको बताउनुभयो । वृक्षरोपणमा हेटौंडा–५ का अध्यक्ष सुशील घिमिरे, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतमलगायत स्थानीयको सहभागिता रहेको थियो ।