मुख्य न्यायाधीश महेश पुडासैनी समक्ष पद तथा गोपनीयताको शपथ लिँदै मुख्यन्यायाधिवक्ता नेपाल । मुख्य न्यायाधीश महेश पुडासैनी समक्ष पद तथा गोपनीयताको शपथ लिँदै मुख्यन्यायाधिवक्ता नेपाल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज सोमबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुख्य न्यायाधिवक्ता नेपालले काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ लिनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपाललाई माघ १२ गते नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ निवासी ज्ञानेन्द्र नेपाल ललितपुर बारका पूर्व सचिव समेत हुनु हुन्छ । उहाँले अपराधिक कानुनमा एलएलएम गर्नुभएको छ ।