आँखा शिविरको विषयमा जानकारी गराउँदै लायन्स क्लब ।

हेटौंडाः लायन्स क्लबको आयोजनामा मकवानपुरसहित सर्लाही, बारा र पर्सा जिल्लाका ८ स्थानमा नि:शुल्क आँखा शिविर हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको आयोजना, रुइत फाउण्डेसनको सहयोग र हेटौंडा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने भएको हो ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै लायन्स क्लब एरिया २ का चिफ विकेशलाल श्रेष्ठले आज सोमबारदेखि शनिबारसम्ममा ४ जिल्लाका ८ स्थानमा नि:शुल्क आँखा शिविर हुने बताउनुभयो । सोमबार पहिलो दिन बारा जिल्लाको महेशपुर र सर्लाहीको हरिवनमा शिविर हुने उहाँले बताउनुभयोे । भोलि मंगलबार मकवानपुरको बागमती गाउँपालिकाको फापरबारी, बारा जिल्लाको भादाह र बाराकै इनवसीरामा शिविर हुनेछ । बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिका, हेटौंडाको बसामाडी गुम्बामा र पर्सा जिल्लाको वीरगंजमा आँखा शिविर हुने जनाइएको छ ।

आँखाको परीक्षण भएको ३ दिनपछि शल्यक्रिया गरिने जनाएको छ । नेत्रस्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले शिविरमा आँखा परीक्षण गर्नुहुनेछ । आँखा परीक्षण शिविरमा पहिचान हुने मोतिविन्दुका विरामीलाई हेटौंडा आँखा अस्पतालसम्म ल्याई निशुल्क शल्यक्रियासहितको उपचार गरी घर फिर्ता पठाइने बताइएको छ ।