हेटौंडाः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा भएको अन्तरक्रियामा प्रधानाध्यापकका सम्बन्धमा ऐन, नियमावली, नीतिमा भएका व्यवस्थाहरु, विद्यालयमा देखिएका चुनौती, विद्यालय शिक्षाको गुणस्तर सुधारका उपायका बारेमा छलफल गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले पाठ्यक्रममा आधारित शिक्षणमा जोड दिन आग्रह गर्नुभयो । विद्यालयमा विद्यार्थी केन्द्रित सिकाईलाई केन्द्रबिन्दु मानेर प्रविधिमैत्री पठनपाठन जरुरी रहेको बताइएको छ ।
कार्यक्रममा बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु नै सक्रिय भएको खण्डमा सुधार ल्याउन सकिने बताउनुभयो । अन्तरक्रियामा शिक्षा क्षेत्रमा काम गरी सेवानिवृत्त डा. तोयानाथ खनालले सहजीकरण गर्नुभएको थियो । राष्ट्रिय शिक्षा नीति २०७६, विद्यालय शिक्षा सम्बन्धी नीतिगत चुनौती, विद्यालय शिक्षामा सुधारका उपायका बारेमा डा. खनालले विभिन्न जिल्लामा भएका अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले संरक्षण शिक्षासम्बन्धी डिभिजन वन कार्यालय राप्ती, मनहरीले प्रकाशन गरेको पुस्तकका बारेमा जानकारी दिंदै सो पुस्तकलाई सबै विद्यालयमा पठनपाठन गर्न आग्रह गर्नुभयो । मकवानपुरलाई सालकको जिल्लाका रुपमा परिचित गराउन र सालक संरक्षणमा बालबालिकामार्फत् अभिभावकसम्म जानुपर्ने आचार्यले बताउनुभयो । अन्तरक्रियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्री बहादुर पाठक, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।