हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा माघ २५ गतेबाट सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले स्थापना दिवस मनाउनका लागि गठन गरेको अतिरीक्त क्रियाकलाप समितिको बैठकले माघ २५ गते हेटौंडा–७ को नागस्वती खेल मैदानमा पुरुष/महिला फुटबल, माघ–२६ गते हेटौंडा–४ हुप्रचौरमा महिला/पुरुष भलिबल, माघ–२७ गते महिला–पुरुष डण्डि–बियो, माघ २८ गते टोल विकास संस्था नगर र वडा समन्वयसँग म्युजिकल चियर प्रतियोगिता गर्ने भएको छ ।
स्थापना दिवसको अवसरमा उपमहानगरले सञ्चालन गर्दै आएको “सफा हेटौंडा अभियान” अन्तर्गत हेटौंडा–१०, बसपार्क क्षेत्रमा सरसफाईसहित माघ २९ गते रक्तदान कार्यक्रमको तयारी गरेको छ । नगरको कार्यपालिका बैठकले स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि नगर प्रमुख मीना कुमारी लामाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सह–संयोजकमा नगर उपप्रमुख राजेश बानियाँ र सदस्यहरुमा १९ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु रहेको समितिका सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई रहनुभएको छ ।
मुल समारोह समितिले उपमहानगरको इतिहासबारे जानकारी गराउनका लागि पालिकाका प्रवक्ता तथा हेटौंडा–१ का अध्यक्ष सविन न्यौपानेको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, हेटौंडा–६ का अध्यक्ष बिष्णुबहादुर दाहालको संयोजकत्वमा सम्मान तथा शिष्टाचार समिति, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको संयोजकत्वमा नगर दिवस व्यवस्थापन समिति गठन गरेको छ ।
स्मारिका प्रकाशन समितिको सदस्यमा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, नगरप्रमुख सचिवालयका प्रमुख जगन्नाथ सापकोटा, नगरप्रमुखका प्रेस संयोजक राजन दाहाल र सुचना प्रविधि अधिकृत भानुभक्त थपलिया रहनुभएको छ । सम्मान तथा शिष्टाचार समितिको सदस्यमा हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्का, हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, कार्यपालिका सदस्य ईश्वरी बिक, नगरसभा सदस्य रञ्जु लामा र सदस्य सचिबमा उपमहानगरका प्रशासन प्रमुख शान्ति बिक रहनुभएको छ ।
अतिरिक्त क्रियाकलाप समितिको सदस्यमा कार्यपालिका सदस्य साधना श्रेष्ठ, नगरसभा सदस्य सविना बिडारी, सन्तुमाया पाख्रिन, ईन्द्रप्रसाद रिजाल रहेको समितिको सदस्य सचिवमा बसन्तकुमार सिटौला सदस्य सचिब रहनुभएको छ । स्थापना दिवसका लागि गठित नगर दिवस व्यवस्थापन समितिको सदस्यमा सबै महाशाखा प्रमुख, आर्थिक प्रशासन, कृषि, सुचना प्रबिधी, फोहरमैला तथा व्यवस्थापन, समन्वय शाखाका प्रमुखहरु र नगर प्रहरी इन्चार्ज रहेका छन् । उपमहानगरले तत्कालिन नगर पञ्चायतको २०२६ फागुन १ गते बसेको बैठकलाई आधार मानी स्थापना दिवस मनाउन लागेको हो ।