हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले ६ महिनाको अवधिमा एक हजार चार सय ६२ पिन्ट रगत संकलन गरेको छ । विभिन्न संघ, संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने व्यक्ति गरी कुल एक हजार चार सय ६२ पिन्ट रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णुप्रसाद रिमालका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्ममा ४३ पटक रक्तदान कार्यक्रम विभिन्न संघ, संस्थाले आयोजना गरेका छन् । छ महिनाको अवधिमा जेसीआई बस्तीपुर हाँडीखोलाले आयोजना गरेको कार्यक्रममा सबैभन्दा बढी ५५ जनाले रक्तदान गरेका छन् । रगतको अभाव भएका बेला रक्तसञ्चार केन्द्रमै बोलाएर पनि रगत संकलन गर्ने गरिएको छ । कतिपय रक्तदाता आफ्नो अनुकुलमा रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गर्ने गरेका छन् । रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गर्नेको संख्यामा भने दुई सय १५ रहेको रक्तसञ्चार केन्द्रका प्राविधिक रिमालले जानकारी दिनुभयो ।
रक्तसञ्चार केन्द्र हेटौंडाले संकलन गरेको रगत हेटौंडामै रहेका स्वास्थ्य संस्थामा उपचार गराउने विरामी र छिमेकी जिल्ला चितवनमा रहेका अस्पतालमा उपचार गराउने विरामीका लागि उपयोग हुने गरेको छ । रक्तसञ्चार केन्द्रले नेगेटिभ व्लडग्रुपका रक्तदाताको नाम सूचि नै तयार पारेर आवश्यक परेको बेलामा रक्तसञ्चार केन्द्रमै बोलाएर रगत संकलन गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा रक्तसञ्चार केन्द्र हेटौंडाले तीन हजार ६९ पिन्त रगत संकलन गरेको थियो ।