फाइल तस्वीर ।

हेटौंडाः सातौं एनभिए क्लब भलिबल च्याम्पियनसीपमा मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान सहभागी हुने भएको छ । प्रतिष्ठानले प्रदेशस्तरीय टिम तयार पारेर मंगलबार क्लबले च्याम्पियनसीपका लागि टिम दर्ता गरेको जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेश भलिबल संघको विशेष कारणले सहभागी हुन नपाउने भएपछि प्रतिष्ठानको नामबाट च्याम्पियनसीपमा सहभागी हुन लागेको महासचिव श्रेष्ठले बताउनुभयो । क्लबस्तरीय प्रतियोगिता भएकोले प्रदेश टिम दर्ता हुन नसकेको उहाँले बताउनुभयो । छनौट गरिएको खेलाडीले खेल्न पाउनुपर्छ भनेर केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले टिम दर्ता गराएको हो । पुरुषतर्फको टिम निर्माणका लागि हेटौंडामा सोमबार र मंगलबार गरी १२ जना खेलाडी छनौट गरिएको उहाँले बताउनुभयो । टिममा मकवानपुरका ४ जना खेलाडीसहित रामेछाप, चितवन, काभ्रे र सिन्धुली जिल्लाका खेलाडी सहभागी छन् ।

चितवनका मन्जिल गुरुङको कप्तानीमा मकवानपुरका निश्चल काउचा, सुरेन्द्र गोले, बुद्धिकृष्ण दंगाल र निश्चल रानामगर समावेश छन् । यस्तै प्रतिष्ठानको टिममा विशाल बिश्वकर्मा, नवीन महतो, विवेक तामाङ, सुजल चौहान, निकेश महतो, विवेकध्वज कार्की र रुपेश बस्नेत छन् । यस्तै महिला टिम पनि काभ्रेको कृष्ण एस एस भलिबल क्लबको नामबाट खेल्ने भएको छ । महिला टिममा मकवानपुरकी रोजिना स्याङ्तान, सुनिता वाईबा र सञ्चमाया थिङसहित रोजिना सिन्जु, शान्ति तामाङ, ममता तामाङ, अश्मिता मगर, पिंकी तामाङर्, एलिना नेपाल, रेखा श्रेष्ठ, सरिता सार्की र रजिना श्रेष्ठ चयन भएका छन् ।

आगामी आइतबारदेखि माघ १ गतेसम्म हुने च्याम्पियनसीपको उपाधि विजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।