हेटौंडाः हेटौंडा–७ र ८ नम्बर वडाका महिलाहरुको सहभागिता रहेको किरणचोक आमा समूहका सदस्यलाई उद्घोषण तालिमको आयोजना गरिएको छ । शुक्रबारदेखि तालिमको सुरुवात भएको हो । तालिम आज शनिबारसम्म चल्नेछ ।
तालिममा समृद्ध समाज दैनिकका सम्पादक एवम् रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ । आमा समूहका सदस्यहरुलाई उद्घोषण तथा भाषण कलासम्बन्धी तालिम सञ्चालन गरी अभिव्यक्ति सीप र क्षमता विकास गर्ने प्रयास गरिएको किरणचोक आमा समूहकी अध्यक्ष सावित्री अधिकारीले जानकारी दिनुभयो । आमा समूहले गत तिहारमा देउसी भैलो खेलेर संकलन गरेको सहयोग रकमबाट तालिमको आयोजना गरेको हो ।
देउसी–भैलो खेलेर संकलन गरेको रकमबाटै यसअघि समूहले अवलोकन भ्रमणको आयोजना गरिसकेको छ भने आगामी दिनमा सामुदायिक कार्यक्रम आयोजना गर्ने तथा समूहको क्षमता विकासको कार्य गर्ने अध्यक्ष अधिकारीले बताउनुुभयो । उद्घोषण तालिममा समूहकी संस्थापक अध्यक्ष ईश्वरी अर्याल, पूर्वअध्यक्ष पशुपति जमरकट्टेलको पनि सहभागिता रहेको छ । २०६७ सालमा स्थापना भएको आमा समूहको सक्रियतामा हेटौंडा–७, नागस्वतीमा बहुउपयोगी सामुदायिक भवन समेत निर्माण गरिएको छ ।