नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सत्तारुढ गठबन्धन त्यागेर नेकपा एमालेसहित अन्य दलहरुसँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । नेपाली कांग्रेससँगको करिब साढे दुई वर्षदेखिको गठबन्धन तोडेर अचानक प्रचण्ड एमालेसँग गठबन्धन गर्न पुगेपछि मुलुकको राजनीतिक समीकरण फेरिएको छ । अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम संयुक्त सरकार गठनका सात दिनभित्र दावी पेश गर्न आग्रह गरेकी थिइन् । राष्ट्रपतिले दिएको एक हप्ताको समय सकिनु अगावै आइतबार प्रधानमन्त्रीको दावी गर्दै प्रचण्ड शितलनिवास पुगेपछि उनलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राजनीतिमा जे पनि गर्न सक्ने पहिचान बनाएका प्रचण्डको आइतबारको गतिविधिलाई त्यति अस्वभाविक मान्न नसकिए पनि अप्रत्याशित भने हो । नाटकीय यूटर्न मारेर प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नु राष्ट्रिय राजनीतिका लागि अनौठो घटना हुन पुगेको छ ।
नेपालका राजनीतिक दल तथा नेताहरु सत्ताका लागि जस्तोसुकै निर्णय लिन तयार हुने परिपाटी नौलो होइन । सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार हुने नेतृत्वले मुलुकको राजनीतिक प्रणालीलाई विकृत बनाउँदै लगेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको विरुद्ध तयार भएको सत्तारुढ गठबन्धनसँगको लामो समयको सहकार्य त्यागेर पुनः ओलीसँग गठनबन्धन गर्नु प्रचण्डको व्यक्तिगत र राजनीतिक स्वार्थ हो भन्ने कुरा सबैले बुझेका छन् । तर, प्रचण्डले भने कांग्रेसले बहुमतको सरकार गठनका लागि दावी पेश गर्ने समय बिताएर अल्पमतको सरकार बनाउन खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले एमालेसहित अन्य दलहरुसँग नयाँ गठबन्धन बनाउनुको कारण कांग्रेसले अल्पमतको सरकार बनाउन चाहेको बताए पनि कांग्रेस सभापति देउवाले प्रधानमन्त्री छाड्न नचाहेकैले प्रचण्डले गठबन्धन फेरेका हुन् ।
आइतबार साँझ प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार दिउँसो शितल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले ८ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । सोमबार नै उपप्रधानमन्त्री तथा मन्त्रीहरुले पनि शपथ लिएका छन् । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सांसद एवम् तीन जना स्वतन्त्रसमेत १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । ७ वटा पार्टी र स्वतन्त्रसमेतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई सरकार चलाउन सहज हुने अवस्था छैन । एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिन पनि ती सबै दलहरुलाई खुशी पार्नु आवश्यक छ । यसका साथै उनीहरुको जायज÷नाजायज मागको सम्बोधन प्रचण्डका लागि अर्को चुनौती हुनेछ ।
प्रचण्डले विश्वासको मत लिन सकेमा दुई वर्षसम्म सरकार सञ्चालन गर्ने बाटो निश्चित हुनेछ । तर, फरक राजनीतिक सिद्धान्त र सोच बोकेका दलहरुलाई मिलाएर सरकार सञ्चालन गर्नु सहज पक्कै हुँदैन । यसले मुलुकमा राजनीतिक अस्थिरता कायमै राख्ने सम्भावना देखिन्छ । दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्थाले सरकार सञ्चालनमा केही सहज हुने भए पनि त्यसपछिको राजनीतिक दाउपेच के हुने भन्ने अनुमान गर्न कठिन देखिन्छ । साढे दुई वर्षपछि प्रधानमन्त्री एमाललाई दिने सहमति गरेर प्रचण्ड प्रधानमन्त्री बनेको चर्चा छ । साढे दुई वर्षपछि प्रचण्डले सजिलै सरकारको नेतृत्व एमालेलाई हस्तान्तरण गर्ने हुन् या सत्ता र शक्तिका लागि पुनः कांग्रेससँग गठबन्धन गर्ने हुन्, भविष्यले देखाउनेछ ।










