हेटौंडाः हेटौडा–१६ बाबेडाँडामा एक बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार मेघ बहादुर थिङका १२ वर्षीय छोरा मुस्कान थिङ दुबै हात बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । हात बाँधेर झुण्डिएको अवस्थामा भएकोले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा हत्या भएको स्पष्ट हुने उल्लेख गर्नुहुँदै प्रहरी प्रमुख गौतमले भन्नुभयो, ‘हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । को हिरासतमा छ भनेर भन्न मिल्दैन ।’ घरबाट तीन सय मिटर पश्चिममा रहेको सामुदायिक वनमा रुखमा कपडाको डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी खटिएको थियो ।
शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको भन्दै मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाको विषयमा स्पष्ट हुने जानकारी दिनुभयो ।










