हेटौंडाः मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धमा समीक्षा गोष्ठी आज बुधबार हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन (कोशिश) सँगको सहकार्यमा समीक्षा कार्यक्रम गरेको हो ।
कोशिशले मानसिक स्वास्थ्यको क्षेत्रमा जनशक्तिको अभाव भएको उल्लेख गर्दै मानसिक स्वास्थ्यको विषयमा परम्परागत रुढिवादी सोँच प्रमुख बाधकको रुपमा रहेको औँल्याएको छ । कोशिशकी परियोजना संयोजक थम कुँवरले दक्ष जनशक्तिको अभावकै कारण आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेश सरकारले औषधि खरिदका लागि विनियोजन गरेको ५० रुपैयाँ चिकित्सकको अभावकै कारण खर्च हुन नसकेको उल्लेख गर्नुभयो । अघिल्लो आर्थिक वर्षको बजेट खर्च हुन नसकेकै कारण चालु आर्थिक वर्षका लागि सरकारले १० लाख रुपैयाँ मात्रै बजेट विनियोजना गरेको कुँवरले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशले मानसिक स्वास्थ्यको क्षेत्रमा गर्दै आएको कामको विषयमा निर्देशक महेश्वर श्रेष्ठले जानकारी गराउनुभएको थियो । यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिनिधिको रुपमा बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयमा कार्यरत स्वास्थ्य अधिकृत हरिप्रसाद भुषालले मानसिक स्वास्थ्य समस्या र यसले निम्त्याउने आत्महत्याका घटनाबारे जानकारी गराउनुभएको थियो ।