हेटौंडाः १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय तेक्वान्दोे प्रतियोगितामा हटिया डोजाङ प्रथम भएको छ । हेटौंडा–४, पारिजात पथस्थित कर्भडहलमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित हटिया डोजाङ प्रथम भएको जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजी बज्राचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा ३ स्वर्ण, ७ कास्यसहित मकवानपुर डोजाङ द्वितीय भएको छ । यस्तै ३ स्वर्ण र २ कास्यसहित सेकग्नाइज डोजाङ तृतीय भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी २० देखि २४ केजी तौल समुह पुरुष जुनियरतर्फ रेकग्नाईज डोजाङका संयोग माझी, महिलातर्फ ३२ देखि ३६ तौलमा मकवानपुर डोजाङका इभा जिम्बा घोषित भएका छन् । यस्तै, सिनियरतर्फ ४५ देखि ४५ केजी तौलका जनप्रिय डोजाङका निरञ्जन राना घोषित भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने डोजाङलाई जिल्ला तेक्वान्दो संघका अध्यक्ष बज्राचार्यले व्यक्तिगत क्रमशः १० हजार र ५ हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्नुभयो । यस्तै जिल्ला खेलकुद विकास समिति मकवानपुरले ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका विभिन्न १५ डोजाङका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ ११ र महिलातर्फ १० तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जिल्लामा अहिले २३ डोजाङ रहेकोमा करिब ३ हजारको संख्यामा तेक्वान्दो खेल्ने खेलाडी रहेका छन् । जिल्लामा अहिले खेलकुदमा फुटबलपछिको लोकप्रिय खेल तेक्वान्दो बनेको छ । जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजी बज्राचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, कार्यालय प्रमुख माधव कोइराला र नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।











