हेटौंडाः निर्वाचन आयोगले बागमती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको छ । शनिबार आयोगका पदाधिकारीले बागमती प्रदेश सभाका प्रमुख यादवचन्द्र शर्मालाई प्रतिवेदन बुझाएको हो । आयोगले देशका सातै प्रदेशमा एकसाथ शनिबार दिउँसो प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको हो ।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले पेश गर्नुभएको हो । प्रतिवेदन बुझाउने कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले २५ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १४, नेकपा एमालेले १३, राप्रपा ७, नेकपा एकीकृत समाजवादी ५ सिटमा विजयी भएको छ । यस्तै हाम्रो नेपाली पार्टीले र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ । कुल ११० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित हुने व्यवस्था छ ।