मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरिँदै ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा सुरु भएको छ । साधारणसभाको शनिबार बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो ।

साधारणसभाको अवसरमा संघले प्रतिभा सम्बद्र्धन सम्मान पुरस्कारबाट हेटौंडा–१० भुटनदेवीका राष्ट्रिय फुबटल खेलाडी अन्जन विष्ट र हेटौंडा–१८ हर्नामाडीका अन्तर्राष्ट्रिय मूर्तिकार लक्ष्मण भुजेललाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ । विष्टले फुटबलमार्फत मकवानपुर जिल्ला र राष्ट्रलाई नै चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो । यस्तै मूर्तिकार भुजेललाई गुम्बाडाँडामा मूर्ति बगैंचा निर्माण गर्ने परिकल्पनाकार रहेको र विदेशमा पनि विभिन्न मूर्तिहरु निर्माण गरी आफु र जिल्लालाई चिनाउन सफल भएको उल्लेख गर्दैै सम्मान गरिएको हो ।

यस्तै, माधवराज सुमार्गी स्मृति सम्मानबाट स्टील व्यवसायी मुन्ना प्रसाद सेनुरिया बनियाँ, लेखापरीक्षण व्यवसायी सतिशचन्द्र अग्रवाल, पदमपोखरीका व्यवसायी शिवराज बर्तौला, व्यवसायी मनोजहरी जोशी र मनहरीका व्यवसायी नारायण श्रेष्ठलाई सम्मान गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र संघका पूर्व अध्यक्ष कृष्ण कटुवाल लगायतको आतिथ्य रहेको थियो ।