हेटौंडाः २० औं स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृतिको अवसरमा जारी जिल्लास्तरीय भलिबल प्रतियोगितामा आज बिहीबार बिहान भएको खेलमा विनयबाबु स्मृति प्रतिष्ठान र आमभञ्ज्याङ युवा क्लबको विजयी सुरुवात भएको छ । बिहिबार बिहान हेटौंडा–४ हुप्रचौरमा पहिलो खेलमा विनयबाबु स्मृति प्रतिष्ठानले आग्रा स्पोट्स क्लबलाई २–१ सेटले र आमभञ्ज्याङ युवा क्लबले ड्रिमर्स टिमलाई २–० सेटले हराएको हो ।
यस्तै आज नै दिउँसो आग्रा स्पोट्स क्लबले दुम्सीडाँडा क्लबसँग, विनयबाबु स्मृति प्रतिष्ठानले हुप्र भेट्रान्स टिमसँग, आमभञ्ज्याङ युवा क्लबले बज्रबाराही युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलहरु क्रमशः दिउँसो २, ३ र ४ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल पुस १ गते हुनेछ भने फाइनल खेल पुस २ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।