हेटौंडाः बागमती प्रदेशमा सोमबार विभिन्न स्थानमा ९ जना मृत फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशको नुवाकोट, काभ्रे, दोलखा र चितवनमा गरी ९ जना मृत अवस्थामा फेला परेका हुन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आले गाउँमा दुई जना मृत अवस्थामा फेला परेका छन् । सोही स्थानका ६४ वर्षीय बिष्णु आले र निजको श्रीमती ६० वर्षीया निरमाया आले आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । श्रीमान घरबाहिर खाटमा र श्रीमती घरभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा सोमबार बिहान ६ बजेको समयमा एक जना मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६, ढाडखर्क बस्ने ४५ वर्षीय जीतबहादुर तामाङ मृत फेला परेका हुन् । तामाङ काम गर्ने सिलसिलामा रसुवा जान्छु भनि घरबाट साथीहरुसँग हिँडेकोमा विदुरचोकस्थित मोक्तान होटलमा बास बसेका थिए । होटलको बाहिर प्यासेजमा ढलिरहेको अवस्थामा साथीहरुले देखेर उपचार गर्न जिल्ला अस्पताल लगेकोमा साढे ६ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
काभ्रेको भुम्लु गाउँपालिका–७, उग्रेनीघाटमा एक जना मृत फेला परेका छन् । सुनकोशी नदी किनारस्थित पाँचखाल नगरपालिका–१०, रानीपानी बस्ने ७९ वर्षीय खडानन्द पराजुली आइतबार दिउँसो १२ बजे काठमाडौंको जडीबुटीबाट हराएको भनि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । आफन्त र प्रहरीको संयुक्त खोजतलास गर्ने क्रममा काभ्रे भुम्लु गाउँपालिका–७, उग्रेनीघाट सुनकोशी नदीको किनारमा मृत अवस्थामा रहेको प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । यसैगरी, काभ्रेमा राति साढे ११ बजेको समयमा पनौती नगरपालिका–१२, गागलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । सोही स्थानकी ५६ वर्षीया सीता नगरकोटी २०७८ चैतदेखि जन्डिसको बिरामी भई धुलिखेल अस्पतालमा उपचार गराइरहेकी थिइन् । मंसिर २२ गते धुलिखेल अस्पतालबाट घरमै राखी उपचार गराई रहेकोमा सोमबार मृत अवस्थामा भेटिएकी हुन् ।
यस्तै, दोलखामा सोमबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मेलुङ गाउँपालिका–२, घ्याङ सुकाठोकरमा महिला मृत अवस्थामा बिष्णुबहादुर कार्कीको छोरी अन्दाजी ३३ वर्षीया लक्ष्मी कार्की मृत अवस्थामा भेटिएकी हुन् । लक्ष्मी घाँस काट्न हिँडेकोमा राति अबेरसम्म घर नआएपछि सोमबार खोज्दै जाँदा घ्याङखोलामा मृत अवस्थामा फेला परेको हो । मानसिक सन्तुलन ठिक नभएकी लक्ष्मीले २ वर्ष अगाडिदेखि औषधी सेवन गरिरहेकी थिइन् ।
चितवनमा मंगलबार बिहान १२ बजेर २० मिनेटको समयमा भरतपुर–१०, केन्द्रीय बस टर्मिनल नजिकै बसमा एक जना मृत अवस्थामा भेटिएका छन् । गौरको रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४७२ नम्बरको यात्रुबाहक बसमा सवार सर्लाहीका बिष्णु गाउँपालिका–१ बस्ने ७० वर्षीय भरत झा मृत भेटिएका हुन् । भरतपुर महानगरपालिका–१०, केन्द्रीय बस टर्मिनल नजिकै आइपुग्दा बसमा सवार झा मृत भेटिएका हुन् । मृतकका साथमा श्रीमती, छोरी र बुहारी रहेका थिए । मृतक सुगर प्रेसरको दीर्घ बिरामी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर–५, कल्याणपुरमा एक जना मृत अवस्थामा भेटिएका छन् । सोमबार बिष्णुकुमार श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्साको जगतनाथपुर गाउँपालिका–५ का २५ वर्षीय मुखलाल मुखिया घरमा कोहि नभएको अवस्थामा आफू सुत्ने कोठामा मृत भेटिएका थिए ।
त्यसैगरी, चितवनको भरतपुर–५ मा नै सोमबार साँझ ६ बजेर ५० मिनेटको समयमा नारायणपुर चोकमा एक जना मृत अवस्थामा फेला परेका छन् । दीपेन्द्रराज न्यौपानेको घरमा काम गर्दै आएका हेटौंडा घर बताउने अन्दाजी ७० वर्षीय कृष्ण लामा गोठमा काम गर्दै गर्दा एक्कासी लडी मृत्यु भएको प्रहरीले जनाएको छ ।