हेटौंडाः इन्द्रसरोवर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग अन्तरक्रिया गरेको छ । गाउँपालिकाले बुधबार सामुदायिक विद्यालयका प्रधानाध्यापक र बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा शैक्षिक सुधारको लागि सहभागी सबैले प्रतिबद्धता जनाएका थिए । आगामी बैठकमा कार्यक्रममा शैक्षिक कार्ययोजना बनाउने निर्णय गरिएको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षतामा भएको हो । अन्तरक्रियामा प्रशिक्षकहरु शिक्षा विद डा. तोयानाथ खनाल र माधव अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयमा देखिएको समस्या, गतिविधि र विद्यालयको सुधार लगायतको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा गाउँपालिकामा रहेको २२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।