हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आयोजना गरेको आँखा जाँच शिविरमा सहभागी मध्ये २६ जनामा मोतिविन्दुको समस्या देखिएको छ । बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतमा आयोजित शिविरमा १ सय ६२ जनाको परीक्षण गर्दा २६ जनामा मातिबिन्दुको संक्रमण पुष्टि भएको हो ।
तीनदिन लगातार शिविर आयोजना गर्ने क्रममा १ हजार १ सय ४३ जनाको आँखा परीक्षण गर्दा २ सय ७ जनामा मोतिबिन्दुको सक्रमण पुष्टि भएको हो । निःशुल्क आँखा शिविर मंसिर २४ गतेसम्म विभिन्न स्थानमा आयोजना गरिने रोटरी क्लब हेटौंडाका प्रमेश प्रधानले जानकारी दिनुभएको छ । परीक्षण शिविरमा मोतिविन्दु पहिचान भएका बिरामीलाई निःशूल्क शल्यक्रियाको व्यवस्थासमेत मिलाइएको संयोजक प्रधानले बताउनुभएको छ ।
रोटरी क्लब अफ हेटौंडा, रोट्र्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर भएको हो । शिविरमा छनोट गरिएका बिरामीहरुलाई मोतिबिन्दुको शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने र बिरामीहरुको अन्तिम परीक्षणपश्चात्मात्र शल्यक्रिया गरिनेछ । बिरामीका लागि आउने, जाने, खाने, बस्ने र मोतिबिन्दुको शल्यक्रिया एवम् औषधि सम्पूर्ण निःशुल्क हुनेछ ।