किशोरी रेजिना ढकालले जिसस मकवानपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुहुँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाकी किशोरी रेजिना ढकालले बिहीबार एकदिनका लागि जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । सार्वजनिक जिम्मेवारीका विषयमा बोध गराउन राडो नेपालले प्लान इन्टरनेशनलसँगको सहकार्यमा एकदिनका लागि जिम्मेवारी सम्हाल्ने कार्यक्रमको संयोजक गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जिम्मेवारी हस्तान्तरण गर्नुभएपछि युवा अभियन्ता रेजिनाले समन्वय प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएको हो । समन्वय प्रमुखको रुपमा रहेर ढकालले महिला तथा बालबालिका लक्षित कार्यक्रम, महिला सहभागिता बढाउने कार्यक्रम, बालविवाह र बालश्रम न्यूनीकरणका लागि स्थानीय पालिकाहरुलाई जिम्मेवार बनाउन समन्वय गर्ने बताउनुभयो । उहाँले विद्यालयलाई अपाङ्गमैत्री बनाउनुका साथै माथिल्लो कक्षाका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउनुपर्ने विषयमा पनि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

एकदिनका लागि समन्वय प्रमुखको जिम्मेवारी निर्वाह गर्ने अभ्यासमा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेल, जिल्ला समन्वय समितिका सदस्यहरु, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान, उपाध्यक्ष बालकुमार मल्ल, निमित्त जिल्ला समन्वय प्रमुख सुनिता गजुरेल, राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालको पनि उपस्थिति रहेको थियो । यसअघि एकदिनका लागि पत्रकार महासंघको अध्यक्षको जिम्मेवारी अधिग्रहण गर्ने, हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको जिम्मेवारी अधिग्रहण गर्ने जस्ता अभ्यास समेत भइसकेका छन् ।