छलफलमा सहभागी निजी विद्यालयका प्रधानाध्यापकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले नगर क्षेत्रका निजी विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिरहेको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा निजी विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल अहिले पनि चलिरहेको छ ।

उपमहानगरलाई बालमैत्री पालिका घोषणाको तयारी गरिरहेको सन्दर्भमा निजी विद्यालयको भूमिकाका विषयमा प्रधानाध्यापकहरुसँग छलफल गरेको हो । यसअघि उपमहानगरपालिकाले हिजो मंगलबार सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल भएको थियो । मंगलबार छलफलमा सहभागी एक प्रधानाध्यापकले बालमैत्री पालिका घोषणाका लागि विद्यालयको भूमिकालाई लिएर छलफल भए पनि प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्नुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाले २०८० साल मंसिर महिनाभित्र बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यसहित कार्य थालनी गरेको छ । हेटौंडा उपमहानगरपालिकाले बालमैत्री पालिका घोषणाका लागि बालविवाह र बालश्रमलाई प्रमुख चुनौतिको रुपमा हेरेको छ । उपमहानगरपालिकाले वडा तहमा सरोकारवालाको सहभागितामा समिति गठन गरेर आवश्यक तयारी थालेको छ ।