विश्वका धेरैजसो मुलुकमा महिला हिंसा एउटा मुख्य सामाजिक समस्या बनिरहेको छ । महिलामाथि हुने विभिन्न प्रकारका हिंसा रोक्न सरकारी तथा गैरसरकारी संघसंस्थाले प्रयास पनि गरिरहेका छन् । महिलामैत्री थुप्रै कानुनी तथा नीतिगत व्यवस्थाहरु पनि लागू गरिएका छन् । त्यति हुँदाहुँदै पनि महिला हिंसा टाउको दुखाईको विषय बनिरहेको छ । महिला हिंसा न्यूनीकरणका लागि विश्वभर विभिन्न प्रकारका दिवस तथा अभियानहरु सञ्चालन हुने गर्दछन् । यिनै मध्येको महिला हिंसाविरुद्ध १६ दिने अभियान शुक्रबारबाट सुरु भएको छ । हरेक वर्ष विश्वभर २५ नोभेम्बरमा महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यही दिनदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिँदै आएको छ ।

महिलाविरुद्ध हुने हिंसालाई कम गर्न विभिन्न दिवस मनाउने र अभियान सञ्चालन गर्ने गरिए पनि नेपाली समाजमा महिलामाथिको हिंसा बढ्दै गएको देखिन्छ । पछिल्लो समय महिला सशक्तिकरणको क्षेत्रमा धेरै कार्य भएको र समाज सचेत बन्दै गएको अवस्थामा महिला हिंसाका घटना भइरहनु चिन्ताको विषय बनेको छ । यति धेरै कानुनी, नीतिगत व्यवस्थाका साथै सचेतनामूलक कार्यक्रमहरु भइरहँदा हिंसाका घटना भइरहनुले साँच्चै हिंसा बढेको हो वा हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको भन्ने विषयमा बहस आवश्यक बनिरहेको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग र प्रविधिको विकासले महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । हिंसाका घटनालाई विभिन्न सञ्चार माध्यमहरुले पनि सार्वजनिक गर्ने गरेका कारण हिंसाको परिमाण बढेजस्तो अनुभूति भइरहेको छ । तर, महिला अधिकारसम्बन्धी सचेतना वा जागरुकता बढेकाले नै महिलामाथि भएका ज्यादति प्रकाशमा आएको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपाली समाजमा दिनहुँजो महिला हिंसाका विविध प्रकारका घटनाहरु सार्वजनिक हुने गर्दछन् । महिला हिंसाविरुद्ध यस्ता अभियान मनाइरहेकै समयमा पनि महिला हिंसाका घटना सार्वजनिक हुने गर्दछन् । नेपालमा हुने महिला हिंसाका घटनामध्ये घरेलु हिंसाका घटना बढी हुने गरेको पाइन्छ । यस्तै, महिलामाथि हुने यौनजन्य हिंसाका घटना पनि उत्तिकै हुने गरेका छन् । दैनिकरुपमा मुलुकका कहिँ न कहिँ बालिका वा महिला बलात्कार भएका समाचार आइरहेकै हुन्छन् । विभिन्न कारण दर्शाएर महिलालाई बलात्कार गर्ने, दुव्र्यवहार गर्ने, बद्नाम तुल्याउने, आगो लगाउने, तेजाव छर्कने, कुटपिट तथा मानसिक प्रताडना दिएर हत्या नै गर्ने प्रकरणहरु पछिल्लो समय बढी नै सार्वजनिक भइरहेका छन् । महिला हिंसाका घटना सार्वजनिक भएसँगै यसको विरोधमा चर्का आवाज पनि उठ्ने गरेका भए पनि हिंसाका घटनामा उल्लेख्य कमी आउन सकेको छैन ।

राज्यलाई झक्झक्याउँदै महिला हिंसाका दोषीहरुलाई आवश्यक सजाय दिलाउने सवालमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सार्थक बन्नुपर्छ । पुरुषप्रधान हाम्रो सामाजिक संस्कारका कारण नेपाली समाजमा महिलामाथि भेदभाव, ज्यादति वा हिंसा लगातार हुँदै आएको छ । दिवस वा अभियान मनाउनेमात्र नभई महिला हिंसामा कमी ल्याउन र सकभर निर्मूल पार्नका लागि यससम्बन्धी कानुनको पुनर्मूल्याङ्कन आवश्यक देखिन्छ । राज्यस्तरबाटै आम महिलाको आत्मबल बढाउने र आर्थिकस्तर उठाउने प्रभावकारी नीति–कार्यक्रम वा उपाय अवलम्बन गर्नु अपरिहार्य हुन्छ । पद, पैसा र पावरका कारण हिंसात्मक व्यवहार गर्नेहरुले उन्मुक्ति पाउने अवस्था अन्त्य गर्न राज्य कठोररुपमा प्रस्तुत हुनुपर्छ ।