हेटौंडाः हेटौंडाबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज प्रसारणको नवौं वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार चियापानको आयोजना गरिएको छ । रेडियोले वर्ष कर्मचारीको रुपमा संवाददाता रविन्द्र वाईबालाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित चियापानमा सहभागीलाई मायाको चिनोस्वरुप पुस्तक प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी १ सय ५० भन्दा बढीलाई विभिन्न विषयका पुस्तक वितरण गरिएको हो । रेडियोले वार्षिकोत्सवको अवसरमा आमन्त्रितलाई पुस्तक उपहार दिने गरेको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै रेडियोका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले सञ्चार माध्यमको नियमित अध्ययन गर्ने, सुन्ने, हेर्ने प्रचलन घट्दै गएको उल्लेख गर्नुभयो । नागरिकलाई सचेत गर्न, गराउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण मानिए पनि आम नागरिकले सञ्चार माध्यमको उपयोगमा ध्यान नदिनु समस्याको विषय भएको उहाँले बताउनुभयो । रेडियो माध्यमको उपयोगिता बढाउन रेडियोकर्मीले राम्रा सामग्री उत्पादनमा जोड दिनुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।