उपाधिसाथ भुटनदेवी माविको क्रिकेट टिम ।

हेटौंडाः मकवानपुर क्रिकेट संघको आयोजनामा भएको निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भुटनदेवी माविले जितेको छ । बिहीबार हेटौंडा–४, हुप्रचौरमा सम्पन्न फाइनल खेलमा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई ७८ रनले पराजित गर्दै भुटनदेवीले उपाधि जितेको हो ।

मकवानपुर जिल्लाको क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको स्मृतिमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको उपाधिसँगै भुटनदेवीले ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सोलिड्यारिटीले २० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता आयोजनाका लागि ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । प्रथम पुरस्कार रकम रुपकराज मानन्धरले प्रायोजन गर्नुभएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको भुटनदेवीले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय रन बनायो । भुटनदेवी सस्तैमा समेटिए पनि जवाफी व्याटिङमा उत्रिएको सोलिड्यारिटीको पनि व्याटिङ चल्न सकेन । सोलिड्यारिटी १२ ओभरमा अलआउट हुँदा ३८ रनमै समेटियो । प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रम संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षतामा तथा संघका सल्लाहकार पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि जोशीले आफू सम्वद्ध हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने घोषणा गर्नुभएको छ । समापन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको पनि उपस्थिति रहेको थियो ।