चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार दीपक सिंह ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीको आज सोमबार पदमपोखरीमा भएको चुनावी प्रचार प्रसारमा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपक सिंहले विकास पे्रमी जनतासँग मन र मुटुको गठबन्धन गरेको बताउनुभएको छ । उहाँले राष्ट्र विकासमा सदैब आफु तत्पर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो गठबन्धन पवित्र छ । कुनै लप्पन झप्पन छैन । जनताको चाहाना अनुसार काम गर्छु । झुटा आश्वासन मात्र दिन्न ।” कार्यक्रममा उहाँले सरकारमा रहेका राजनीतिक दलहरुले गरेको राष्ट्रघाती सन्धी र सम्झौता च्यातेर फाल्ने प्रतिबद्धता गर्नुभएको छ । राजनीतिक दलहरुले देशलाई लुट्न गठबन्धन गरेको आरोप लगाउँदै उहाँले निष्ठा र सिद्धान्तको लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, “मकवानपुरबाट धेरै उम्मेदवार जिताईसक्नु भएको छ । तपाईहरुको मतदानले पटक–पटक मन्त्री बनाईसक्नु भएको छ । उनीहरुले राज्यमा पुगेर राज्यको सेवा सुविधा र अनुदान मात्र खाएका छन् । राम्रो शिक्षा र रोजगारीको व्यवस्था गर्न सकेका छैनन् ।”

कार्यक्रममा उहाँले जता अवसर त्यतै ढल्किने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले कसरी मतदान गर्छ भन्दै प्रश्न गर्नु भएको थियो । सरकारमा बसेकाहरु फेरी पनि काम गर्ने झुटो प्रतिबद्धता लिएर जनतामाझ आईरहेको भन्दै उहाँले भ्रममा नपर्न सबैलाई अनुरोध गर्नुभयो ।