“एचएसएम फेस्ट–२०२२” मा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा “एचएसएम फेस्ट–२०२२” सुरु भएको छ । क्याम्पसको स्नातक तह केन्द्रित तीन दिने हेटौंडा स्कुल अफ म्यानेजमन्ट उत्सव २०२२ बुधबारबाट सुरु भएको हो । स्नातक तहका विद्यार्थीहरुको आयोजना र कलेज प्रशासनको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

विद्यार्थीको चौतर्फी विकासमा ध्यान पुर्याउने उद्देश्यले उत्सवको आयोजना गरिएको क्याम्पसका सहायक प्राचार्य रामपण्डित खनालले जानकारी दिनुभयो । विभिन्न कार्यक्रमहरू समावेश गरिएको उत्सवमा व्यापार व्यवसायमा संलग्नता कसरी गराउन सकिन्छ भनेर विभिन्न स्टलहरु राखिएका छन् । यस्तै, खाजाका परिकार, घरेलु हातले बुनेका ऊनका कपडा लगायतका वस्तुहरु, बुक मार्कर लगायतका सामानहरु बिक्रिमा राखिएको छ ।

त्यसैगरी व्यक्तित्व विकासका गतिविधि केन्द्रित विभिन्न प्रतियोगितात्मक क्रियाकलापहरू पनि भएको क्याम्पसले जनाएको छ । अन्तर कलेज स्तरीय वक्तृृत्वकला, दृश्यात्मक विज्ञापनका सामग्री, अन्तरप्रेरणा प्रतियोगिता, घटना विश्लेषण, वादविवाद प्रतियोगिता, आईटी क्वीजलगायतका कार्यक्रमहरु रहेका छन् । शुक्रबार तीन दिने कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी कार्यक्रम समापन हुनेछ ।