हेटौंडाः घटना दर्तासम्बन्धमा एक दिवसीय कार्यशाला सोमबार हेटौंडामा सम्पन्न भएको छ । हिमाल इनोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रालिले बाल कल्याण समाज मकवानपुरसँगको सहकार्यमा कार्यशालाको आयोजना गरेको हो ।
कार्यशालामा सरकारी कार्यालयका अधिकारी, गैरसरकारी संस्थाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । जन्मदर्ता, विवाहदर्ता, बसाईसराई, मृत्युदर्ताजस्ता घटना दर्ताको प्रक्रियामा नागरिकको ध्यान जान नसकेको सहभागीको भनाइ थियो । राज्यका निकायबाट नागरिक समुदायमा हुनुपर्ने सचेतनाको कमीले घटना दर्ताको दर अत्यन्त न्यून भएको कार्यशालाको निश्कर्ष रहेको थियो ।
जन्मदर्ता गराउने दर ६७ प्रतिशतमात्रै रहेको उल्लेख गर्नुहुँदै मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालय प्रमुख यज्ञ अधिकारीले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यले शतप्रतिशत जन्मदर्ता हुने अवस्थासम्म पुग्न कठिन रहेको बताउनुभयो । बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले हेटौंडा उपमहानगर, जिल्ला हुँदै प्रदेशलाई नै बालमैत्री घोषणा गर्ने योजना भए पनि घटना दर्ताको कार्य प्रभावकारी नहुँदा लक्ष्यअनुसार काम गर्न समस्या हुने उल्लेख गर्नुभयो ।
कार्यशालामा समूहगत छलफलबाट घटना दर्ताको कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई नै जिम्मेवार बनाई घटना दर्ताको आवश्यकता र महत्वबारे नागरिकलाई सचेत गराउनुपर्ने, घटना दर्ता गराउँदा नागरिकलाई प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, सेवा प्रवाहलाई सहजीकरण गर्नुपर्ने सुझाव दिएको छ ।