सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेका मतदानस्थलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । सोमबार राक्सिराङमा रहेको विभिन्न ५ मतदानस्थलहरुको अनुगमन तथा निरीक्षण गरिएको जिल्ला निर्वाचन अनुगमन समितिका सदस्य तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अनुगमन टोली र निर्वाचन सुरक्षा अनुगमन टोलीले राक्सिराङ–६ स्थित राष्ट्रिय मावि सिलिङ्गे, आयुर्वेद औषधालय शिलाधुनी र वडा नम्बर ८ स्थित श्री निमावि ठूलोटोड्के मतदानस्थलहरुको अनुगमन तथा निरीक्षण गरेको छ । यी मतदान केन्द्रहरु दुर्गम ठाउँमा पर्ने भएकाले अनुगमन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । त्यहाँका मतदान स्थलबाट मतपेटीकाहरु मतगणनाका लागि चितवन हुँदै ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यी मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्थापनमा अन्य मतदान केन्द्रको तुलनामा कडाइ पार्नुपर्ने देखिएको पाण्डेले बताउनुभयो ।मकवानपुरमा १९ मतदान केन्द्र अति संवेदनशील र ६० वटा संवेदनशील रहेको बताउनुहुँदै प्रजिअ पाण्डेले यी मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्थापन कडा पारिने बताउनुभयो । अहिले मकवानपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३ हजार ३ सयको संख्यामा सुरक्षाकर्मी खटाइएको उहाँले बताउनुभयो ।

मकवानपुरमा विप्लव नेतृत्वको नेकपासहित अन्य दलहरुले निर्वाचन खारेजी गर्नुपर्ने भन्दै भित्ते लेखनहरुलाई तीव्र पारिएको भन्दै उहाँले यसो नगर्न आग्रह गर्नुभयो । यी कार्य निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले यस्तो गतिविधि गरेको पाइएमा कारबाही गरिने प्रजिअ पाण्डेले बताउनुभयो । मकवानपुरमा निर्वाचन निष्पक्ष र भयरहित ढङ्गबाट सम्पन्न गराउन सबै सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो ।

सोमबार मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, निर्वाचन अधिकृत जिल्ला न्यायाधीवक्ता मुकुन्दहरि पौडेल, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, नेपाली सेना हेटौंडाका प्रमुख सुवासचन्द्र महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतम, १४ नम्बर प्रहरी बल गणका प्रमुख प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीलगायत निर्वाचन सुरक्षा अनुगमन समितिका पदाधिकारीहरुको उपस्थितिमा राक्सिराङमा रहेको मतदानस्थलहरुको अनुगमन गरिएको हो ।