मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट कमल थापा उम्मेदवार हुनुहुन्छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट उम्मेदवार बन्दै हुनुहुन्छ । एउटा पार्टीको अध्यक्ष अर्कै पार्टीको चुनाव चिन्हबाट उम्मेदवार हुनुलाई नैतिक र राजनीतिक सिद्धान्तका हिसाबले अस्वभाविक अभ्यास भन्दै आलोचना समेत भइरहेको छ । चुनावी प्रचारप्रसारका साथै मतदातालाई मत माग्न घरदैलो पुगिरहनुभएका कमल थापासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको संक्षिप्त कुराकानीः
अहिले चुनाबी अभियानमा घरदैलोमा हुनुहुन्छ । चुनावलाई लिएर मतदाताको मनस्थिति कस्तो पाउनु भएको छ ?
थापाः मतदातामा अत्यन्तै उत्साहजनक मनस्थिति पाएको छु । म जहाँ पनि पुगेको छु त्यहाँ स्थानीय जनताले अत्यन्तै न्यानो माया सद्भावले स्वागत गर्नु भएको छ । र यो पटक हाम्रो जीत सुनिश्चित देख्छु ।
तपाई अहिले पार्टी भन्दा फरक ढंगले, फरक चुनाव चिन्हमा उम्मेद्वार बन्दै हुनुहुन्छ । आफ्नो जीतका लागि के आधारमा के परिस्थितिले फरक चुनाव चिन्हमा उठिराख्नु भएको छ ?
थापाः यो देशको धरातलीय यथार्थले गर्दा मैले नेकपा एमालेसँग सहकार्य गरेको र सूर्य चुनाव चिन्ह लिएर उठेको हो । सबैलाई थाहा छ अहिले नेपालको राजनीति दुई कित्तामा विभाजन भएको छ । एकातिर नेकपा एमाले र राष्ट्रियता पक्षधर शक्तिहरु छन् भने अर्काेतिर गठबन्धनको आत्मसमर्पणवादी शक्ति छ । यी दुई मध्ये कुनै एकसँग सहकार्य गरेर जानुपर्ने अहिले देशको धरातलीय वा परिस्थितिजन्य बाध्यता जस्तै छ । त्यस पृष्ठभूमिमा मैले राष्ट्रियता पक्षधर शक्ति र त्यसको मूल संवाहकको रुपमा रहेको नेकपा एमालेसँग सहकार्य गर्ने निणय गरेको हो । र चुनावमा सहभागी भएपछि चुनाव चिन्हलाई खासै विवाद गर्नु हुँदैन । जुन चुनाव चिन्ह लिएर जाँदा जनताले रुचाउँछन्, बढि भन्दा बढि मत प्राप्त हुन्छ त्यही चुनाव चिन्ह लिएर जानु उपयुक्त हुन्छ ।
तपाईलाई मतदाताले किन मतदान गर्नु पर्छ ?
थापाः अहिले राष्ट्रिय राजनीति प्रष्टरुपले दुई ध्रुबमा धु्रवीकृत भएको छ । आगामी चुनाबबाट दुई मध्ये एउटा शक्ति र एउटा सरकार जनताले रोज्नु पर्ने हुन्छ । केपि ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय धरातलमा उभिएको सरकार वा अस्थिरता अराजकताको धरातलमा उभिएको कठ्पुतली सरकार । यो दुईवटाको बीचमा छनौट हुने भएकोले स्वभाविक रुपमा जनता राष्ट्रियताको पक्षधर कित्तामा उभिनेछन् । स्थिरता र समृद्धिको पक्षमा उभिने छन् भन्ने मलाई लागेको छ । त्यस कारण पनि जनताले सूर्यलाई विजयी गराउने छन् । जहाँसम्म मेरो सवाल छ जनताले मलाई राम्रोसँग चिनेको छ । खासगरी राष्ट्रियस्तरमा मेरो एउटा अलग्गै पहिचान छ भने मकवानपुरको विकासमा मैले धेरै योगदान पुर्याएको छु । चाहे त्यो हेटौंडालाई राजधानी बनाउने कुरा होस्, चाहे त्यो धरान–चतरा–हेटौंडा राजमार्ग निर्माण गर्ने कुरा होस् । चाहे त्यो हेटौंडामा दोश्रो ठूलो औद्योगिक क्षेत्र निर्माण गर्ने कुुरा होस । यी सब कारणले गर्दा जनताले हामीलाई साथ दिन्छन् ।
तपाई जुन क्षेत्रबाट लामो समयदेखि उम्मेदवार भइरहनु भएको छ त्यहाँ चै गर्नुपर्ने विकास निर्माणको कार्यहरु हुन नसकेको भन्ने गुनासो छ नि ।
थापाः जसले यो कुरा भन्छ त्यसले त्यो क्षेत्र घुमेकै छैन । मैले यो क्षेत्र मात्र होईन समग्र मकवानपुर जिल्लाको गाउँ–गाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, यातायातको विस्तारमा धेरै ठूलो योगदान पुर्याएको छु । यो सबको जग मैले हालेको हुँ । त्यो जम्मै आमजनतालाई थाहा छ । नयाँ पिढीलाई त्यो थाहा नहुन सक्छ । बरु अहिले गठबन्धनमा रहेका उम्मेद्वारहरुले मकवानपुरमा एउटा पनि उदाहरण दिन सक्ने ठाउँ छ जस्तो मलाई लाग्दैन ।