हेटौंडाः सहीद स्मारक सी डिभिजन लिगको छनौटका लागि मकवानपुरको विजय युथ क्लबले आज सोमबार पहिलो खेल खेल्दैछ । काठमाडौंको एन्फा कम्प्लेक्समा हुने खेलमा विजय युथले ललितपुरको एफसी साउर्थनसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
विजय युथ र साउर्थनबीचको खेल दिउँसो ३ बजे हुनेछ । विजय युथले सी डिभिजन छनौटका लागि तेस्रो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । यसअघि विजय युथ क्लब २ पटक सी डिभिजनमा छनौटका लागि प्रतिस्पर्धा गरेपनि असफल भएको थियो । यस पटक भने विजय युथ सी डिभिजनमा छनौट हुने सम्भावना रहेको क्लबका प्रशिक्षक विजयलाल श्रेष्ठले दाबी गर्नुभएको छ । यसअघिको प्रतियोगितामा सहभागी भइसकेका ९ जना सिनियर खेलाडीसहितको बालियो टिम रहेको उहाँले बताउनुभयो । विजय युथले अहिले २३ खेलाडी टिममा राखेको उहाँले बताउनुभयो । विजय युथ क्लबले १ महिना बन्द प्रशिक्षण गरेर खेलाडीलाई तयार पारेको उहाँले बताउनुभयो ।
एफसी विजय यूथका खेलाडीहरुलाई प्रतियोगितामा सहभागिता जनाउन शनिबार विदाई गरिसकेको छ । क्लवको प्रशिक्षकको जिम्मेवारीमा विजयलाल श्रेष्ठ र सहायक प्रशिक्षकमा डेविन श्रेष्ठ रहनुभएको छ । यस्तै टिमको कप्तानमा मनोज विष्ट रहनुभएको छ । सी डिभिजन लिग पुस ५ गतेबाट सुरु हुने कार्यतालिका रहेको छ ।