हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ७ का मन्साई टिमले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्बर ४ लाई १–० गोलले हराउँदै मन्साईले उपाधी जितेको बागमती–७ का वडाध्यक्ष उत्तर लामा भोलनले जानकारी दिनुभयो ।
मन्साहीलाई उपाधी दिलाउन राजकुमार पुलामीले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पुलामी घोषित भए । जितसँगै मन्साहीले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ४ नम्बर वडाले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी ४ नम्बर वडाका सुजन पाख्रिन, उत्कृष्ट गोल रक्षक मन्साईका शेखर राना र सर्वाधिक गोलकर्ता आयोजक टिमका बिक्रम लोप्चन घोषित भए ।
प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सह–महामन्त्री डिना उपाध्याय तथा विशेष अतिथि प्रेम बहादुर पुलामीले पुरस्कार वितरण गर्नुभएको थियो ।