ह्वीलचियर हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा ।

हेटौंडाः शारीरिकरुपमा अशक्त भई हिँड्डुलमा समस्या व्यहोर्दै आएका पाँचजनालाई हेटौंडा उपमहानगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ । दैनिक जिवनयापनको क्रममा घर बाहिर समेत निस्कन असहज भई थलिएर बसेका ५ जनालाई बुधबार ह्वीलचियर प्रदान गरिएको हो ।

हेटौंडा–१४ का मानबहादुर बल, हेटौंडा–१३ की दिलमाया स्याङ्तान, हेटौंडा–१९ का कुमार अर्याल र श्यामबहादुर बल तथा हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई ह्वीलचियर प्रदान गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले अशक्त भएकाको परिवारलाई ह्वीलचियर हस्तान्तरण गर्नुभयो ।

चालु आर्थिक बर्ष २०७९/८० मा वडा तहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो । शारीरिकरुपमा अशक्त रहेकाहरुको परिवारले वडा कार्यालयको सिफारीसमा सहयोग सामग्री माग गर्ने र उपमहानगरले खरिद गरी हस्तान्तरण गर्ने प्रक्रिया निरन्तर चलिरहने महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।