अध्यादेश जारी गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा ।

हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि मंगलबार पेश भएको अध्यादेश प्रमुख शर्माले जारी गर्नुभएको हो ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिनुभयो । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ ।