दोस्रो सेमीफाइनल खेलमा थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाको टिमबीच खेल हुँदै ।

हेटौंडाः हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधिका लागि बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका भिड्ने भएको छ । बुधबार बिहान सम्पन्न सेमीफाइनल खेलमा हेटौंडा–११ लाई पराजित गर्दै बकैया गाउँपालिका फाइनल प्रवेश गरेको हो भने मकवानपुरगढी गाउँपालिकाले थाहा नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो सेमीफाइनल खेलमा बकैयाले हेटौंडा–११ लाई २५–१४, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो सेमीफाइनल खेल भने निक्कै प्रतिस्पर्धात्मक रह्यो । पहिलो सेट मकवानपुरगढीले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोस्रो सेटमा थाहा नगरपालिकाले २६–२४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट मकवानपुरगढीले २५–२३ ले आफ्नो पक्षमा पार्दा चौथो सेट थाहा नगरपालिकाले २५–१९ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को स्थितिमा आइपुग्यो । पाँचौं तथा अन्तिम सेट पनि १५–१३ को प्रतिस्पर्धात्मक स्थितिमा मकवानपुरगढीले आफ्नो पक्षमा पारेको थियो ।

जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आजै दिउँसो हेटौंडाको हुप्रचौरमा हुनेछ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसअघि सोमबार सम्पन्न उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम पनि आजै हुनेछ । उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि महिला र पुरुष दुबै विधामा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडाले जितेको छ ।