हेटौंडाः तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखा स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुईतसहित हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले मोतिविन्दु भएका ३ सय ६९ जनाको आँखाको निशुल्क शल्यक्रिया गरेको छ । तेज कोहली एण्ड रुईत फाउण्डेशनको सहयोगमा हेटौंडा सामुदायिक आँखा अस्पतालले निशुल्क आँखा जाँच एवम् मोतिविन्दुको शल्यक्रिया गरेको हो ।
मकवानपुरको भिमफेदी, मनहरी, राईगाउँ, बाराको फत्तेपुर, निजगढ, कोहल्वी नगरपालिका, पर्साको कटैया, रौतहटको गजुरा र सिन्धुलीको पिपलमाढी र चनेश्वरमा निशुल्क शिविर आयोजना गरी दुई हजार आठ सय २२ जना विरामीहरुको आँखा जाँच गरी ४ सय ९४ जना बिरामीहरुमा मोतिविन्दु पाइएको थियो ।
तेज कोहली एण्ड रुईत फाउण्डेशनबाट यस बर्ष हेटौंडा सामुदायिक आँखा अस्पताललाई पाँच सय जनाको मोतिविन्दुको शल्यक्रिया गर्न बजेट प्राप्त भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । डा. रुईत भदौ २७ गते हेटौंडा आउनु भएर भदौ ३१ गते काठमाडौं फर्कनु भएको हो । डा. रुईतले ४ रात हेटौंडा सामुदायिक आँखा अस्पतालको आवासगृहमै बिताउनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालले डा. रुईतकै लागि २ वटा कोठा राखेको छ ।
अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठका अनुसार डा. रुईतको सम्मानमै दुईवटा कोठामा अरु कसैलाई राख्ने गरेको छैन । डा. रुईत बर्षमा कम्तिमा एकपटक हेटौंडा आउनु हुने जानकारी दिनुहुँदै श्रेष्ठले भन्नुभयो, ‘डा. रुईत आउनुभएको बेलामा उहाँले मात्रै प्रयोग गर्ने गरी दुईवटा कोठा तयार पारिएको छ । उहाँको सम्मानमा अस्पतालमा ती कोठा बनाइएको हो । कोठाहरु त्यस्तो कुनै विशेष छैनन् । साधारण छन् ।’