नगर प्रमुख मीना कुमारी लामालाई विदाई गर्नुहुँदै उपप्रमुख राजेश बानियाँ ।

हेटौंडाः मलेसियामा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा भोलि सोमबार मलेसिया जानुहुँदैछ । मलेसिया जान लाग्नुभएकी नगर प्रमुख लामालाई आइतबार विदाई गरिएको छ । मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने मानव बस्ती व्यवस्थापनका लागि प्रतिबद्ध शहरी सरोकारवालाहरुको सस्था ‘सिटिनेट’ को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि नगर प्रमुख लामा मलेसिया जान लाग्नुभएको हो ।

उहाँलाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईले आइतबार बिदाई गर्नुभयो । आइतबार काठमाडौं पुग्नु भई सोमबार दिउँसोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नगर प्रमुख लामा मलेसिया प्रस्थान गर्नुहुनेछ । नगर प्रमुख लामा एक सय ३५ भन्दा बढि मुलुकका नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्रहरुको साझा संस्था सिटिनेटको नवौं सभामा सहभागी हुने बताइएको छ ।

सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकासहित १६ वटा स्थानीय तह र विभिन्न संस्थाको नेतृत्व गर्दै नगरप्रमुख लामा मलेसिया जान लाग्नुभएको हो । सिटी नेटको सभा असोजको ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । सभामा जानुपूर्व सिटिनेटको सदस्य रहेका नेपालका स्थानीय तह र सामाजिक संघ, संस्थाको हेटौंडामा बैठक सञ्चालन गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको आतिथ्यमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जनले नवौं सभामा उम्मेदवारीको घोषणा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने तयारीपछि नगर प्रमुख लामाले कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख राजेश बानियाँलाई दिनुभएको छ ।