प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेललाई ज्ञापनपत्र बुझाउँदै ।

हेटौंडाः अपाङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरले अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाचनमा सहज मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा सहज वातावरण मिलाउन प्रदेश निर्वाचन आयोग कार्यालय बागमती प्रदेश प्रमुख लुम्बनाथ पोखरेललाई आज शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

अपाङ्ग स्वावलम्बन जीवन पद्घति केन्द्र मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बोको संयोजकत्वमा आगामी निर्वाचनमा सबै मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोधमुक्त वातावरण सिर्जना गर्न आग्रह गर्दै ४ बुँदे ज्ञापन पत्र बुझाएको हो । चुनावमा परम्परागत प्रणाली हटाएर प्रविधिको सहयोग लिई विद्युतीय मतदान प्रणाली समेत अपनाउन सकिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । परम्परागत मतदानले अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो मत जाहेर गर्ने अधिकार गुमाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा प्रविधियुक्त मतदान स्थलको व्यवस्थापन गरी अपाङ्गता भएका व्यक्तिहरुको मतदान गर्ने अधिकारको सुनिश्चिताको लागि अपिल गरिएको छ ।

पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि मतदान स्थलमा सहजीकरणका लागि प्रत्येक बुँथ र मतदान स्थलमा अपाङ्गता सहायता कक्षको व्यवस्था हुनुपर्ने भन्दै प्रदेश निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । संघिय सरकारले मानवनिर्मित भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ स्वीकृत गरी लागु गरेपनि सरकार र नीजि क्षेत्रले निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री नभएको ज्ञापनपत्रमा उल्लेख छ । प्रदेश निर्वाचन आयोग कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले ज्ञापनपत्र बुझ्नुहुँदै मतदान गर्ने सबै नागरिकको नैसर्गिक अधिकार भएकाले कार्यान्वयन गरिने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा पनि ७ सय २० जना निर्वाचनमा खटिनेहरुलाई तालिम दिएको उहाँले बताउनुभयो । मकवानपुरमा १२ हजार ५ सय जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।