हेटौंडाः ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’ थोरोको यो भनाइ सदाबहार लोकप्रिय छ । थोरोको यो लोकप्रिय भनाइ जति सरल छ त्यत्ति नै उनको भनाइलाई आत्मसाथ गर्न जटिल छ । थोरोको भनाइ मात्रै लोकप्रिय छ । लोकप्रिय भनाइलाई आत्मसाथ गर्दै व्यवहारमा तपाइँले नयाँ पुस्तक किन्नु भएको छ ?
तपाइँ आजभोलि कुन पुस्तक पढ्दै हुनुहुन्छ ? किन पढ्दै हुनुहुन्छ ? यी प्रश्नको उत्तर छ तपाइँसँग ? पक्कै छैन । केही दिनअघि हेटौंडाका निजी तथा सरकारी विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीलाई पठन संस्कृतिका बारेमा अभिमुखीकरण गर्ने क्रममा ६० जना विद्यार्थी भएको कक्षामा उनीलाई आफ्ना अभिभावकले पढ्ने गरेको देखेका छौ ? भनेर सोध्दा एक, दुईजनाले मात्रै पढ्ने गरेको देखेको प्रतिक्रिया दिए । ती एक, दुईजना विद्यार्थीका अभिभावकको पनि नियमित पढ्ने अभ्यास रहेनछ । कहिले काहीँ मात्रै पढ्ने गरेको विद्यार्थीको प्रतिक्रिया थियो ।
खासगरी आजको नेपाली समाजको प्रमुख समस्याको रुपमा खस्कँदो शैक्षिक अवस्था, शैक्षिक वातावरण भनेर आम जानकारीको विषय हो । शिक्षामा सुधारको आवश्यकता आम चासोको विषय हो । तर, के गरियो भने शिक्षामा सुधार हुन्छ भनेर पहिचान गर्न र शैक्षिक सुधारको प्रयासमा भने सरोकारवालाको ध्यान पुग्न सकेको छैन । आम बुझाई भनेको विद्यालय तथा विश्वविद्यालय तहको शिक्षामा सुधार हुनु नै शिक्षाको सुधार हुनु हो । विद्यालय तथा विश्वविद्यालय तहको औपचारिक शिक्षा हो । शैक्षिक वातावरण सुध्रन या सुधार्न विद्यालय र विश्वविद्यालय अघि तपाइँ हाम्रो घर, परिवारको वातावरण सुध्रनु जरुरी छ ।
तपाइँ–हामी विद्यालय र विश्वविद्यालय तहका हाम्रा भाईबहिनी, दाईदिदी, छोराछोरीको पढाईलाई मात्रै पढाई मान्छौं । उनीहरुले पाठ्यक्रमका विषय अध्ययन गर्नु मात्रै पढ्नु हो, त्यसबाहेक समसामयिक विषयमा सबै उमेर समूह, पेशागत क्षेत्र, भौगोलिक समुदायले नियमित अध्ययनलाई आत्मसाथ गर्नुपर्छ भन्ने बुझाई देखिँदैन । एउटा परिवारका सबै सदस्यले अध्ययनलाई दैनिकीको रुपमा अभ्यास गर्न नसकेका कारण मुख्यतः अध्ययन, अनुसन्धान, मनन्लाई संस्कृतिको रुपमा विकास गर्न सकेका छैनौं । जसले शिक्षामा सुधारको आधार तयार हुन सकेको छैन ।
हरेक परिवारले, परिवारका हरेक सदस्यले दैनिकीको रुपमा अध्ययनको अभ्यास गर्ने, अध्ययनसँगै विश्लेषण, संश्लेषण, अन्तरक्रिया र एउटा निश्कर्षको अभ्यास गर्दै जाने हो भने शैक्षिक सुधारको सम्भावना रहन्छ । परिवारका हरेक सदस्यले अध्ययन गर्ने अभ्यासले अध्ययन सामान्य र सरल बन्दै जान्छ । सरल कार्यमा सबैको तन–मन अर्पण गर्न सकिन्छ ।
तपाइँ–हामीले परिवारका हरेक सदस्यले अध्ययन गर्ने राम्रा पुस्तक पुस्तक भण्डारमा पाउन सक्छौं । आधुनिक सूचना–प्रविधिको हवाला दिएर अधिकांशले आजको जमानामा पनि पुस्तक जरुरी छ र भनेर हल्का टिप्पणी गर्ने गरेका छन् । अध्ययन, मनन् र विश्लेषणका लागि पुस्तक जत्तिको सरल र गुणस्तरीय माध्यम अरु केही छैन । तुलनात्मक अध्ययन गर्ने हो भने आजको सूचना प्रविधि र पुस्तकमा वृहत् भिन्नता खोजी गर्न सकिन्छ । तर, पुस्तकको विशेषता र चरित्रलाई आजको सूचना–प्रविधिले नष्ट गर्न सक्दैन ।
आजै कल्पना गरौं, ‘घरमा एउटा सुन्दर पुस्तक र्याक होस् । बाजे–छोरा–नाती, हजुरआमा–छोरी–नातिनी तीनै पुस्ताले अध्ययन गर्नुपर्ने सुन्दर पुस्तक ती र्याक मा सजिएका होउन् । पढ्ने क्रममा हरेक दिन र्याकका पुस्तक यता–उता होस् । पढ्नका लागि पुस्तक परिवारका सदस्यको हात हातमा होस् । हरेक दिन टोल समुदायमा चर्चा होस्, अनि तपाइँले सोध्न पनि सक्नुहोस् र अरुले सोध्दा तपाइँले उत्तर पनि दिन सक्नुहोस्, ‘तपाइँ के पढ्दै हुनुहुन्छ ?’