‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने नाराका साथ आज सेप्टेम्बर ८ (भदौ २३) का दिन ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । २०६४ सालदेखि २०७६ सालसम्म अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवससमेत मनाउने गरिएको भए पनि २०७७ र २०७८ सालमा शिक्षा दिवस मनाइएन । यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेप्टेम्बर ८ (भदौ २३ गते) का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन आह्वान गरेका कारण राष्ट्रिय शिक्षा दिवस अन्यौलमै रहेको छ । तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा दिवस छुट्टै मितिमा मनाउने व्यवस्था गर्न विभिन्न विकल्पमा छलफल चलाए । धेरै विकल्पमध्ये नेपालको शिक्षा सम्बन्धी इस्तियार (कानुन) जारी भएको दिन १९८५ साल माघ ८ गतेलाई नै राष्ट्रिय शिक्षा दिवस मनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगे पनि मन्त्रिपरिषदले उक्त इस्तियारको सक्कली कागजपत्र खोजी गर्दा नभेटिएपछि मन्त्रिपरिषद्ले निर्णय गर्न सकेन । यो वर्ष जसरी पनि दिवस मनाउने गरी मिति सिफारिस गर्ने तयारीमा मन्त्रालय जुटेको भनिए पनि शिक्षा दिवस अन्यौलमै रहेको छ ।

नेपालमा २०३१ सालदेखि हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाउन थालिएको हो । विभिन्न कारण बिचमा केही वर्ष दिवस नमनाइए पनि २०६२ सालसम्म फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनपश्चात् सेप्टम्बर ८ मा पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन शिक्षा दिवस मनाउने गरिएको हो । पछिल्लो ३ वर्षदेखि भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आएको भए पनि राष्ट्रिय शिक्षा दिवस भने अन्यौलमा परेको छ । राज्यको सबैभन्दा बढी लगानी शिक्षामा हुने गरेको भए पनि शिक्षा क्षेत्र राज्यबाटै उपेक्षित बन्दै आएको छ । तीन वर्षदेखि राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा यस अवसरमा गरिने सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा तथा पुरस्कृत गर्ने परम्परा रोकिएको छ ।

शिक्षा/साक्षरता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । हरेक शिक्षा/साक्षरता दिवसमा एउटा राम्रो र उपयुक्त नारा तय गरिन्छ । नारा तयार गर्न शिक्षा मन्त्रालयका पदाधिकारी तथा शिक्षाविद्हरुले निकै मिहिनेत गर्ने गरेका छन् । विभिन्न विकल्पका नारामा छलफल गरेर एक उपयुक्त नारा तय हुन्छ । तर, नारा जति राम्रो भए पनि नाराको सार्थकता कतै लेखाजोखा हुँदैन । दिवस मनाइएको केही दिनपछि दिवसको नारा धेरैले बिर्सिसकेका हुन्छन् । दिवसका नाराले महत्वपूर्ण सन्देश बोकेको भए पनि सोअनुरुप काम भने हुने गरेको छैन ।

शिक्षा दिवस शैक्षिक क्षेत्रको गरिमामय पर्व हो । करिब एक करोड विद्यार्थी, तिनका अभिभावक र करिब ५ लाख शिक्षकसँग सरोकार राख्ने शिक्षा दिवसजस्तो राष्ट्रिय दिवसलाई अन्यौलमा राख्नु हुँदैन । परम्परागतरुपमै भए पनि शिक्षा दिवस मनाउने र शिक्षक, विद्यार्थी, विद्यालयलाई सम्मान तथा पुरस्कार वितरणलाई निरन्तरता दिनुपर्छ । वर्तमान संविधानले विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । अब स्थानीय तहले आ–आफ्नै शिक्षा दिवस तय गर्नु उचित हुनेछ । स्थानीय तह आफैंले स्थानीय शिक्षा दिवसको मिति निर्धारण गरेर आफ्नो अनुकूलका प्रभावकारी कार्यक्रम आयोजना गर्नुपर्छ । अधिकारसम्पन्न स्थानीय तहले प्रदेश वा संघको मुख ताक्ने होइन, आफ्नै मौलिक शिक्षा दिवस मनाउने व्यवस्था गर्नु आवश्यक देखिएको छ ।