हेटौंडा संचालित अटोहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीनपाङ्ग्रे सवारी साधनहरु (अटो/मयूरी)मा एक महिना अघिदेखि ट्राफिक प्रहरीले स्टीकर टाँस्न थालेको थियो । हेटौंडा उपमहानगरपालिकाको अग्रसरता तथा अटो/मयूरी व्यवसायी संघको सहमतिमा स्टीकर टाँसिएको हो ।

स्टीकर टाँसिएपछि स्टीकर टाँसेका सवारी साधनमात्र हेटौंडा उपमहानगरभित्र चल्नुपर्ने बताइएको थियो । तर, स्टीकर नटाँसिएका तथा मापदण्ड नपुगेका तीनपाङ्ग्रे अटो/मयूरी अहिले पनि सञ्चालनमा छन् । हेटौंडा बजार क्षेत्रमा अत्यधिक मात्रामा अटो/मयूरी चल्न थालेपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या न्यूनीकरण गर्न स्टीकर टाँस्ने कार्य गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

६ वर्ष वैदेशिक रोजगार गरी फर्कनुभएका अटो चालक उदय खड्का भन्नुहुन्छ— तीनपाङ्ग्रे सवारी साधनहरुमा स्टीकर टाँस्नु र नटाँस्नु उस्तै रहेको बताउनुभएको छ । उपमहानगरले स्टीकर टाँस्ने कार्य गरिसकेपछि पनि मापदण्ड नपुगेका तीनपाङ्ग्रे सवारी साधनहरु सञ्चालन भइरहेकाले स्टीकर टाँस्नु र नटाँस्नुमा केही फरक नभएको उहाँले बताउनुभएको हो ।

नेपालमा रोजगारी गरी खानलाई धेरै समस्या रहेको भन्दै अटो व्यवसायबाट कमाएको पैसा खानलाई मात्र पुग्ने खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कहिलेकाहीँ खानलाई समेत नपुग्ने हुन्छ, कसरी पैसा जम्मा गर्र्नु ?’ विदेशबाट एक महिनामा ५० हजार रुपैयाँ कमाइ हुने गरेको भए पनि नेपालमा कति कमाइन्छ भन्ने यकिन नहुने उहाँको भनाइ छ ।

उपमहानगरले हालसम्म अटो तथा मयूरीको भाडादर कायम गरेको छैन । तर, अटो/मयूरी संघले भने हेटौंडा बजारदेखि पदपोखरीको वनस्पतिसम्म ६० रुपैयाँ भाडादर कायम गरे पनि अटो व्यवसायीले भने ७० रुपैयाँ भाडा लिने गरेको उहाँले दावी गर्नुभयो ।

केही हदसम्म मापदण्ड नपुगेका तीनपाङ्ग्रे सवारी साधनहरु चल्न कम भए पनि मापदण्ड नपुगेका धेरै सवारी साधनहरु अझै पनि सञ्चालनमा रहेको अटो चालक कृष्णबहादुर भ्लोनले जानकारी दिनुभयो । पहिला अटो व्यवसायबाट २ हजार ५ सय रुपैयाँसम्म कमाउने गरेको भए पनि अहिले एक हजार रुपैयाँ कमाउन मुस्किल रहेको उहाँको भनाइ छ ।

अटो चालक जोनसिंह लामाले आफूले हेटौंडा बजारदेखि पदमपोखरीको पान्तलेसम्म अटो चलाउने गरेको बताउनुभयो । पेट्रोलको मूल्यवृद्धि भएको र अटो मर्मत गरिरहनुपर्ने भएकाले आम्दानी कम हुँदै गएको उहाँले जानकारी दिनुभयो । ‘अहिले चाडपर्वको बेला कमाइ अलि बढी हुन्छ’, लामाले भन्नुभयो– ‘अरु बेला बढीमा १ हजार रुपैयाँ मात्र कमाइ हुने गरेको छ ।’

मापदण्डविपरित तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा आउने दर बढेपछि उपमहानरले स्टीकर टाँस्ने कार्य गरेको थियो । तर, अहिले पनि तीनपाङ्ग्रे सवारी साधनहरु मनलाग्दी चल्ने गरेको र भाडा पनि मनलाग्दी लिने गरेको यात्रुको गुनासो छ । हेटौंडादेखि वनस्पति हुँदै चकरीमकरीसम्म चल्ने अटोहरुले गोठदमारसम्मको भाडा प्रतियात्रु एक सय रुपैयाँ लिँदा वनस्पतिसम्म चल्ने अटोहरुले एक सय ५० रुपैयाँ लिने गरेका छन् ।