हेटौंडाः महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा आएको छ । जाल्पादेवी महिला उद्यमी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो । कोसेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो ।
कोसेली घरको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख लामाले महिलाहरुको श्रमलाई मर्न नदिनका लागि उपमहानगरले कोसेली घर सञ्चालनमा सहयोग गरेको बताउनुभयो । उहाँले उपमहानगरपालिकाले दिएको तालिमबाटै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग पुग्ने र महिलाहरुलाई दिगो आयआर्जनमा जोड्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताउनुभयो । उपमहानगरले हरेक बर्ष तालिमबाट ३८० जना महिलालाई दिगो आयआर्जनमा जोड्ने गरेको उहाँको भनाइ थियो । उपमहानगरपालिकाले महिलाहरुको आयआर्जनका लागि दिएको विभिन्न तालिमबाट दिक्षित भएका प्रशिक्षार्थीहरुले उत्पादन गरेको सामग्री बिक्री र बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याइएको बताइएको छ । उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालित लक्षित वर्गका सीपमुलक तालिम लिई उत्पादनमा लागे पनि बजारीकरणका कारण समस्या व्यहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजारसम्म लैजान कोसेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेबी महिला उद्यमी केन्द्रका अध्यक्ष गीता मैनालीले बताउनुभयो । उहाँका अनुसार अहिले कोसेली घरमा विभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु जोडिएका छन् । उनीहरुले उत्पादन गरेको विभिन्न प्रकारका सामग्रीहरु बजारीकरणका लागि राखिएको उहाँले जानकारी दिनुभयो ।
कोसेली घरमा ढाकाका साडी, कुर्ता, सुरुवा, व्याग, जुत्ता, बिवाहमा प्रयोग हुने साइपाटाका सामान, पुजाआजाका लागि प्रयोग हुने दुनाटपरी, धुप बत्ती, उनीबाट बनेका कपडा, बिभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ । अब उपमहानगर जिल्ला भित्र रहेका महिला उद्यामीहरुलाई कोसेली घरमा जोड्दै लैजाने तयारी रहेको मैनालीले जानकारी दिनुभयो । उद्यमी केन्द्रका अध्यक्ष गीता मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको आर्थिक विकास शाखाकी प्रमुख गंगा चौलागाई, उद्योग पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलसहित महिला उद्यामीहरुको सहभागिता रहेको थियो ।