नूतन, नवीन अनि नौलोको पर्याय नै नयाँ हो । त्यसैगरी छ वटा ऋृतु, बाह्र महिना र तीन सय ६५ दिनको अवधि नै वर्ष हो । यसरी नयाँ र वर्षको संयोजन नै नयाँ वर्ष हो, जसको शाब्दिक अर्थ हुन्छ, प्रारम्भ हुन लागेको एक वर्षको नयाँ समयावधि ।
पुरानो समयको विदाई र प्रारम्भ हुन लागेको नयाँ समयलाई स्वागत गर्दै आ–आफ्नै तरिकाले विश्वभरि यसलाई मनाउने चलन छ । संसारका अधिकांश राष्ट्रहरुले अङ्ग्रेजी क्यालेण्डरलाई आधार बनाएर जनवरी १ लाई नयाँ वर्ष प्रवेशको दिनका रुपमा मनाउँछन् । त्यस्तै कयौं देशहरुले आ–आफ्नै देशको क्यालेण्डरअनुसार पनि नयाँ वर्ष प्रवेशको दिन भव्यसँग मनाउँछन् । विभिन्न उत्सव, सभा, समारोह तथा भोजभतेरहरु गरी आ–आफ्ना परिवार, साथीसंगीसँग जम्मा भएर मिठो–मसिनो खाई विगतको विदाई र नयाँको स्वागत यरी यसलाई मनाउने गरिन्छ ।
हाम्रो देश नेपाल र हामी नेपालीहरुले विक्रम सम्वत्लाई आधार बनाएर नयाँ वर्ष मनाउने गर्छौं । जसअनुसार चैत्र मसान्तलाई वर्षको अन्तिम दिन र बैशाख १ गतेलाई नयाँ वर्षको प्रारम्भको दिन मान्ने परम्परा छ । विक्रम सम्वत् हिन्दु धर्मावलम्बीहरुको प्राचीन सम्वत् र गणना प्रणली हो । भनिन्छ, आजैका दिनबाट ब्रम्हाले सृष्टिको रचना प्रारम्भ गरेकाले हिन्दु धर्मावलम्बीहरुका माझ यो सम्वत्को विशेष महत्व छ । यो सम्वत् प्राचीन हिन्दु पञ्चाङ्गको भरपर्दो गणना प्रणाली हो । यसैका आधारमा हाम्रो सम्वत् अहिलेसम्म चल्दै आएको छ र यसैलाई आधार मानी प्रत्येक वर्षको बैशाख १ गतेलाई नयाँ वर्ष प्रवेशका रुपमा स्वागत गरिन्छ । हो, आज सम्पूर्ण नेपालीहरुको त्यही विशेष दिन हो ।
नयाँ वर्ष प्रवेशको यो दिन हरेकचोटि आउँछ । नयाँ भावना, नयाँ सपना, नयाँ आकांक्षा, नयाँ उद्देश्य, नयाँ जोश, जाँगर, नयाँ सफलताका लागि यसको आगमनको भव्य स्वागत गरिन्छ । साथै हामीमाझ एउटा के पनि मान्यता छ भने नयाँ वर्ष प्रवेशको दिन राम्ररी मनाइयो भने वर्ष हाम्रो शुभ अनि राम्रो हुन्छ । त्यसैले यसलाई आ–आफ्नो पारिवारिक पृष्ठभूमिअनुसार हामी नेपालीले मनाउँछौं । आजैबाट सुरु भएको नयाँ सालले हामीलाई हरेक काममा अगाडि बढ्ने प्रेरणा पनि प्रदान गर्छ । हामी विगतका दुःख, पिर, चिन्ता आदिलाई बिर्सँदै त्यसप्रति दुखी नभई आउने नयाँ सालका लागि धेरै खुसी प्रकट गर्छौं । बितेका समयहरुबाट विभिन्न पाठहरु सिक्दै त्यसको अपेक्षा आउने समय हाम्रा लागि धेरै राम्रो होस् भन्ने कामना गर्छौँ र विभिन्न उत्सव, समारोह, भोजभतेर आदिको आयोजना गरी यसको स्वागत गर्छौं ।
त्यही विशेष दिन हो आजको तर हाम्रो विगत वर्षको पूर्वाद्र्ध राम्रै र मिठै भए पनि उत्तराद्र्ध भने साह्रै नमिठो अर्थात् तितो रह्यो । हामी नेपाली मात्र होइनौं विश्व मानव समुदायका लागि विगतको महिना साह्रै कष्टकर रह्यो । अङ्ग्रेजी महिना डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस ‘कोभिड–१९’ नामक महामारीले अहिले विश्व मानव जगत् भयग्रस्त मात्र छैन सङ्कटमा पनि परेको छ ।
के हो त कोरोना भाइरस ? यसको सङ्क्षिप्त परिचय प्रस्तुत गर्न सान्दर्भिक ठानेँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएअनुसार यो दीर्घरोग नभई सूक्ष्म जीवाणुरुपी भाइरसबाट उत्पन्न एकप्रकारको महामारी हो । डब्लुएचओका अनुसार हाल यसलाई ‘कोरोना भाइरस महामारी’ अर्थात् ‘कोभिड–१९’ नामकरण गरिएको छ । यो आलेख तयार पार्दासम्म विश्वका २१० भन्दा बढी राष्ट्रलाई यसले आफ्नो पञ्जामा पारिसकेको छ । त्यसैगरी नरभक्षी यस महामारीले विश्वमा करिब १८ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित अर्थात् सङ्क्रमित भएका छन् । ४ लाख २८ हजारभन्दा बढी निको भएको र १ लाख १४ हजारभन्दा बढीले मृत्युवरण गरेको दुःखद् अवस्था छ । यसबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित अमेरिका हुन पुगेको छ । त्यस्तै जहाँबाट यो प्रारम्भ भयो त्यहाँ हाल यसको प्रभाव प्रायःशून्य छ भने अर्को हाम्रो छिमेकी मुलुक भारत जसले हामीलाई प्रत्यक्ष प्रभाव पार्छ त्यहाँ यो व्यापक फैलने क्रममा छ । जुन चिन्ताको विषय हो । हाम्रो देशमा हालसम्म यसको प्रभाव न्यून रहेको थियो । यहाँ हालसम्म १४ जना सङ्क्रमित थिए भने १ जना निको भएर घर फर्केको अवस्था छ । मानव जगत्लाई नै नराम्ररी प्रभाव पारेको यस महामारीबाट अहिलेसम्म हामी जोगिनुको प्रमुख कारण भनेको लकडाउन बेलैमा अपनाउनु र अनुशासित तवरले घरको कोठामा कैद हुनु नै हो । तर यसबाट कति दिनसम्म जोगिन सक्छौं त्यो अनुत्तरित नै छ । त्यसैले स्वयम् आ–आफैंले सतर्कता अपनाउनु नै ठुलो बुद्धिमानी हुने छ ।
सुरुमा ज्वरो आउनु, लगातार सुख्खा खोकी लाग्नु र श्वास–प्रश्वासमा समस्या उत्पन्न हुनु यसको लक्षण भएकाले यस्ता किसिमका लक्षणहरु देखा परे तुरुन्त स्वास्थ्यकर्मीहरुको परामर्शमा जानुको विकल्प हामीसँग छैन त्यसकारण यसमा सबैले ध्यान दिन जरुरी छ । हिँड्दा माक्स लगाएर हिड्नु, मानव दुरी कायम गरेर हिँड्ने तथा बस्ने गर्नाले पनि यसबाट जोगिन सकिन्छ । पटक–पटक २० सेकेण्डसम्म हात साबुनपानीले धुने र सरकारले आह्वान गरेको कुरामा हेलचेक्र्याइँ नगर्ने अनि यससम्बधी चेतना छरछिमेकी सबैमा दिने गर्नाले पनि हामी यसको नरभक्षी पञ्जाबाट जोगिन्छौँ ।
हो, आजको दिन हामीे विभिन्न उत्सव, सभा तथा समारोहहरु गरी नयाँ वर्ष मनाउन सक्थ्यौँ । हामी सबैलाई थाहा छ, शताब्दी यताकै यो महामारीको अवस्था मानव समुदायका लागि भीषण कठिन अवस्था हो । यस्तो बेलामा सबै मानव कल्याणको भलो चिताउनु नै श्रेष्ठ कार्य हो । यसले आगामी दिनमा ल्याउने सामाजिक, आर्थिक र मनोवैज्ञानिक सङ्कट अझ विश्व मानवका लागि भयङ्कर तितो हुन सक्छ र पनि हामीसँग अहिले सकारात्मक सोँचका साथ अघि बढ्नुको विकल्प छैन ।
आजबाट प्रारम्भ भएको यस नयाँ वर्षले हामी सम्पूर्ण नेपालीमा अर्काको निन्दा होइन प्रशंसा गर्न, रुपमा होइन गुणमा विश्वास गर्न, सत्य अनि वास्तविक कुरालाई प्रेम गर्न, विनम्र र विनयशील बन्न, परोपकारी र दानवीर हुन, धनको घमण्ड नगरी विश्वासी बन्न, निःस्वार्थ भएर काम गर्न, विरोधीले पनि प्रशंसा गर्ने लायक बन्न, अरुका लागि पनि प्रेरक हुन, साँचो र पवित्र जीवन जिउन तथा स्वावलम्बी बनी अरुलाई प्रेमपूर्वक व्यवहार गर्ने जस्ता सकारात्मक सोँच वृद्धि गरोस् र अझ यो महामारीसँग जुध्न सक्ने तागत अभिवृद्धि गरोस् भन्दै पुनः सम्पूर्णमा नयाँ वर्षको अशेष अनि असीम शुभकामना…।