२०७६ सालको अन्तिम महिना नेपाली समाजका लागि निक्कै त्रासदीपूर्ण रह्यो । यतिबेला सिंगो मूलुक स्थीर छ । स्थायी सरकारले अब गति लिन्छ भन्दै गर्दै गर्दा चीनको हुवान प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेर नेपालले वर्षको अन्तिम महिनातिर आइपुग्दा देशका सबै गतिविधिलाई रोक्न बाध्य हुँदै गयो । वर्ष २०७६ को अन्तिम दिन र नयाँ वर्ष २०७७ को पहिलो दिन नेपाली समाजले उस्तै शान्त, स्थीरतालाई हेर्न बाध्य भएको छ । नयाँ वर्ष हर्ष, उल्लास, उमंगका साथ बिताउनुपर्नेमा नोवेल कोरोना भाइरसको संक्रमण नहोस् भनी आम नागरिक घरभित्रै बस्न बाध्य छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा एक वर्षको समीक्षा गर्दै आगामी वर्षका लागि प्रतिवद्धता व्यक्त गर्नुपर्ने समयमा आम नागरिक विश्वव्यापी बनेको कोरोना भाइरसका कारण शान्त रहन बाध्य छन् । अहिले विश्व समुदायले नै नयाँ उपलब्धी र परिवर्तनका लागि भन्दा पनि कोरोनाको संक्रमण थप नफैलियोस्, संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभ होस् र कोरोनाका कारण हुने मृत्युदर न्यून होस् भन्ने कामना गरिरहेका छन् ।
विश्व समुदायको तुलना नेपाल कोरोना भाइरसको संक्रमण अत्यन्त न्यून छ । सरकारले पर्याप्त सतर्कता अपनाएन भनिरहँदा पनि नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुनुका पछाडि विभिन्न आधारका विषयमा विश्लेषण पनि भएका छन् । जे होस् विकसित भनिएका मुलुकहरुका लागि अत्यन्त चुनौति बनेको कोरोना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित रहेको मान्न सक्छौं । यद्यपि वर्षको अन्तिम दिनसम्म आइपुग्दा १२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने एक जना संकास्पदको थप परीक्षण भइरहेको छ । जसमध्ये एकजना कोरोनाको संक्रमणबाट स्वस्थ भइसकेको छ ।
यतिबेला कोरोनाको संक्रमण थप नफैलियोस्, सबै सुरक्षित होउन् भन्ने कामना बाहेक अरु कुनै अपेक्षा आम विश्व समुदायकै रहने अवस्था छैन । विश्व समुदाय आआफ्नै ढंगले स्थापित भए पनि कोरोनाले सबैलाई विशेषतः पृथ्वीलाई स्याहार गर्न सचेत गराएको छ । आम स्वार्थी मानिस व्यक्ति, परिवार, समूह, वर्ग, भुगोल, मुलुकको स्वार्थमा निहीत रहिरहँदा कोरोना भाइरसले मानिसको चेतनालाई पृथ्वीको बारेमा पनि चिन्ता गर्न एउटा गतिलो झट्का कोरोना भाइरस मार्फत दिएको भन्ने बुझ्न गाह्रो छैन ।
यसर्थ ईश्वी सम्वत्को अन्तिम महिनामा चीनलाई त्रसित बनाएको कोरोना भाइरसले विक्रम सम्वत्को अन्तिम महिनामा आएर नेपाली समाजलाई पनि उत्तिकै त्रासमा राखेको छ । यो त्रासको समयमा आम नागरिकले सचेत भएर कोरोना जस्ता महामारी भावी दिनमा विश्व समुदायले भोग्न नपरोस् भनी मानव समाजका लागि मात्रै नभएर पृथ्वी जगत र सिंगो ब्रम्हाण्डलाई नै स्वस्थकर व्यवहार गर्ने चेतना सबैमा अभिवृद्धि होस् भन्ने अपेक्षासहित वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । स्मरणः रहोस् वर्ष २०७७ नेपाली समाजका लागि एउटा मात्रै लक्की सेभेनको नभई दुई वटा लक्की सेभेनको वर्ष हुनुले पनि थप सुरक्षित, सभ्य, अनुशासित हुँदै आवश्यक उपलब्धीमा अग्रसर हुने वर्षको रुपमा स्थापित हुने अवसर प्राप्त होस् । यसतर्फ विश्वभर फैलिएका नेपाली नागरिकको जिम्मेवार भूमिका रहोस् शुभकामना ।