संप्रस पौडेल

स्थानः एउटा पार्टी प्यालेसको भव्य गजल कार्यक्रम
वातावरणः सानदार बैठक कक्ष, पंखा घुमिरहेको, भित्तामा आकर्षक तस्विरहरु
पात्रहरुः कार्यक्रम प्रस्तोता, केही दर्शक अनि मञ्चमा हार्मोनियमका साथ गजलकार

प्रस्तोताः अबको दुई घण्टा हामी देश विदेशमा सुप्रसिद्ध गजल गायक पजलका गजलहरु सुन्नेछौं । ताली बजी नै रहोस् । ताली बजी नै रहोस् ।
(गठबन्धनको गडगड ताली बज्दछ ।)
पजलः सम्पूर्णमा नमस्कार । रंगीन साँझमा छौं ।
एक स्रोताः पजलजी, साँझ कसरी रंगीन हुन्छ ? कालो कालो पो हुँदैछ।
पजलः अहो धन्यवाद धन्यवाद । हामी त्यो गजल पनि सुन्नेछौं ।
स्रोताहरु कृपया नआत्तिनुहोला । यो गजलमय माहोलमा गजल सुन्ने माग आइरहेको छ । म मेरा चर्चित गजलहरु सुनाउनेछु ।
(स्रोता उदास छन् ।)

(एउटा गजल सुनिसकेपश्चात्)
अर्को स्रोताः यो गजल त मोतीराम भट्टले लेखेका हुन् । तपाईँले होइन । हाम्रा आवाज पनि सुनाउनोस् पजलजी । माइक तपाईँसँग मात्रै छ ।
पजलः तपाईँलाई धेरै धेरै धन्यवाद । यहाँ अगाडी बस्नेहरु वन्स मोरको माग गरिरहनु भएको छ । (हार्मोनियम कड्किन्छ)
रुख्खा सुख्खा खडेरीले बर्षात् पाएपछि
देख्छु उनलाई अर्कै अर्कै रमरम छाएपछि
(दोश्रो गजलको पहिलो शेर सुनाउनासाथ)
पहिलो स्रोताः पजलजी तपाईँको गजल गजल नभएर पजल भयो । जसले राखे पनि नामचाहिँ मिलाएरै राखेका हुन् । शब्द मात्रै थोपरेर हुन्छ ? गजलको एउटा त के आधा नियम पनि पालना गर्नु भएको छैन । बन्द गर्नोस् गजल सजल ।
पजलः फेरि पनि धन्यवाद । तपाईँले अघिदेखि नै ध्यान दिएर सुनिरहनु भएको छ । यो हौसलाले अझ धेरै पुलकित भएको छु । तपाईँको काखमैं मु‍….माफ गर्नोस्, सुत्दिउँ झैं भएको छु ।

तेश्रो स्रोताः अर्को पजल पनि सुनौं न त । न राम्रो आइहाल्छ कि ।
(दोश्रो गजल पूरा हुनासाथ हार्मोनियम झनै रन्किन्छ ।)
पजलः तपाईँहरुमा गजलको भोक देखेर हर्षित भएको छु । ल सुन्नोस् तेश्रो गजल ।
(हार्मोनियम बज्छ ।) मेरो गजलको पहिलो शेयर यस्तो रहेको छः
स्रोताहरु भुनभुनिन्छन्गजल गाएपछि
राती राती भेट्न आउनु खाना खाएपछि
(एक्कासी पानीको रित्तो बोत्तल गजलकारको टाउकोमा बर्सिन्छ ।)
पजलः यो मायाको लागि धन्यवाद है । हेर्नोस् कार्यक्रम सञ्चालकज्यू, म आज निकै सफल भएको महसुस गर्देछु । गजलको मात रक्सीको मातभन्दा ज्यादा हुन्छ । मेरो यो भनाईलाई भित्तामा लेखाएर राख्नुहोला । स्रोताहरु जुरुक् जुरुक् भैरहनु भएको छ ।

अब दोश्रो शेर अर्थात् अघिको शेरको बच्चाः
तिमी छौं, म छु, साथमा छन् केही बोत्तल
मुखले अझै खाउँ भन्छ पेट अघाएपछि । पहिलो, दोश्रो, तेश्रो र चौथो स्रोताः (एकसाथ चप्पलको मिसाइल आक्रमण गर्दछन् ।) पजलजी, सुन्नु छैन हामीलाई गजल सजल । (एउटा चर्किन्छन्ः)
हामी अल्सरका सिरानी हौं । प्रेसरका बिरामी हौं ।
बोत्तलका विरोधी हौं । सुगरका रोगी हौं ।
पजलः धन्यवाद तपाईँहरुलाई । उहाँहरु पनि गजल सुनाइरहनु भएको छ । यो साँझ गजलको भव्य साँझ बनिरहेको छ । अब अर्को गजल सुन्नका लागि तयार हुनुहुन्छ ?

(यतिखेर ती चारजना अन्य चारजना लिएर हिँडिसकेका हुन्छन् ।)
प्रस्तोताः गजलले ध्वस्तै पार्नु भएछ नि सर । टिकट लिएका चार जना अनि उधारो बाँकी रहेका चार जना पनि हिँडेछन् । (हार्मोनियम अझै बजिरहेको छ ।) भो अब बन्द गर्नोस् । सम्धीको निहुँले, मलाई पनि घिउ ले । ल लिनोस् चार टिकटमध्ये दुई टिकटको पैसा तपाईँलाई दुई टिकटको पैसा मलाई । हिसाब बराबर ।
अर्को दिन गजल साँझ भव्य भएको समाचार पत्रिकामा छापिन्छ । गजल साँझले भड्काएका दर्शकहरु कहिले फर्किएलान् ।
(लेखक सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छन् ।)