नृत्य गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–४ स्थित नवोदय शिशु सदन माविले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय सभाको दोस्रो दिन सोमबार साँझ सामाजिक सन्ध्याको आयोजना गरिएको छ । आयोजकसहित हेटौंडा नगर क्षेत्रका ६ वटा विद्यँलयका विद्यार्थीको सहभागितामा आइतबारबाट सुरु भएको नमूना संयुक्त राष्ट्रसंघीय सभाको दोस्रो दिन साँझ सभामा सहभागी विद्यार्थीले सामाजिक सन्ध्यामा आफूमा भएको कला प्रस्तुत गरेका थिए ।

गीत गाउँदै विद्यार्थी ।

सामाजिक सन्ध्यामा विद्यार्थीले गायन, नृत्य कलाका साथै साहित्य सिर्जनाको प्रस्तुती समेत गरेका थिए । नमूना राष्ट्रसंघीय सभामा सहभागी हुन फरक फरक विद्यालयबाट आएका विद्यार्थीबीच हार्दिकता अभिवृद्धि गर्न तथा कला प्रस्तुत गर्न सामाजिक सन्ध्याको आयोजना गरिएको विद्यालयका कार्यक्रम व्यवस्थापक प्रेम क्षेत्रीले जानकारी दिनुभयो । सामाजिक सन्ध्यापछि शान्त रात्रीभोजको समेत आयोजना गरिएको थियो ।

म्युजिकल चियर खेल्दै विद्यार्थी ।

विद्यार्थीले आफ्नो कला प्रस्तुत गर्ने क्रममा मौलिक संस्कृति झल्कने पोशाकको समेत प्रयोग गरेका थिए । आज मंगलबारसम्म चल्ने नमूना राष्ट्रसंघीय सभामा विद्यार्थीको सहभागिता राम्रो रहेको सभाकी महासचिव रेजा विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार आज सोमबार पनि विषयगत समितिहरुमा छलफल भएको र आज मंगलबार बिहान १० बजेदेखि एक चरण विषयगत समूहमा छलफल पछि सभाको समापन हुनेछ ।

कार्यक्रममा सहभागीहरु ।

पहिलो पटक भौतिकरुपमा आयोजना गरिएको नमूना सभामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्नुहुँदै कार्यक्रम व्यवस्थापक प्रेम क्षेत्रीले भन्नुभयो, ‘पहिलो पटक भौतिकरुपमा नमूना संयुक्त राष्ट्रसंघीय सभाको अन्तिम समयसम्म उत्साहजनक रहने अपेक्षा गरिएको छ । पहिलो पटकको अनुभवकै आधारमा आगामी वर्षमा थप प्रभावकारी ढंगबाट नमूना सभाको आयोजना गरी विद्यार्थीलाई बढी भन्दा बढी सिकाईको अवसर सिर्जना गर्नेछौं ।’