हेटौंडाः विद्यालय कर्मचारीको आन्दोलनका कारण मकवानपुरका अधिकांश विद्यालय आइतबार बन्द भएका छन् । विद्यालयमा कार्यरत कर्मचारीले आफ्नो पेशागत हित र सेवा, सुविधाको माग राख्दै आन्दोलनको घोषणा गरेसँगै विद्यालय बन्द भएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्को आव्हानमा आइतबारदेखि आगामी शुक्रबारसम्म विद्यालय बन्दको आव्हान गरिएको छ । बन्दको आव्हानसँगै आइतबार केही विद्यालयमा पठनपाठन भए पनि आन्दोलनरत कर्मचारीले बन्द गरेर सहयोग गर्न आग्रह गरेपछि पठनपाठन रोकिएको बताइएको छ ।
कर्मचारी परिषद्ले शनिबार नै विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गरेर आन्दोलनमा सहयोग गर्न आग्रह गरेको थियो । कर्मचारी परिषद्को आन्दोलनमा केही प्रधानाध्यापकले समर्थन समेत जनाएका छन् । विद्यालय कर्मचारीको रुपमा लेखापाल र कार्यालय सहयोगीको परिकल्पना गरे पनि नेपालको शिक्षासम्बन्धी कानुनले दरबन्दीको भने व्यवस्था गरेको छैन ।