हेटौंडाः नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको नेकपाले आज मंगलबार देशव्यापी रुपमा आह्वान गरेको बन्दका कारण हेटौंडामा शैक्षिक क्षेत्र र यातायात क्षेत्र प्रभावित भएको छ । हेटौंडामा मंगलबार शैक्षिक संस्थाहरु बन्द भएका छन् भने सवारी साधनहरु न्युन चलेका छन् ।
हेटौंडामा मंगलबार दिउँसो १२ बजेसम्म हेटौंडामा विप्लपको बन्द शान्तिपुर्ण रहेको छ । प्राय सवारी साधन र सर्वसाधारणको भीडभाड हुने हेटौंडाको स्कुल रोड, खोपेखल्ली, अजरअमर रोड, कान्तिराजपथ, राप्तिरोड आज बन्दका कारण खाली देखिएका छन् ।
हेटौंडामा आज मंगलबार बिहान हेटौंडा–२ स्थित जरूवा टोलमा रहेको नेकपा (विप्लप) को पार्टी कार्यालयबाट संयुक्त चार दलले र्याली निकालेको छ । नेकपा “विप्लप”, नेपाल कम्युनिष्ट पार्टी, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादि पार्टीले संयुक्त रुपमा र्याली निकालेको हो ।
विप्लप नेतृत्वको नेकपा हेटौंडा उपमहानगरपालिका नगर अध्यक्ष सूर्य अर्यालको नेतृत्वमा र्याली भएको थियो । सरकार र नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुंदे सहमतिको विरुद्धमा ४ कम्युनिष्ट पार्टीले १९ महिनासम्म पनि कार्यान्वयन नगरेको तथा सहमति विपरित अदालतले पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव लगायत दर्जनौ नेता कार्यकर्ताहरुलाई पक्राउ पुर्जी जारी र एमसीसी, एसपीपी जस्ता बिषयको विरुद्धमा केन्द्रीय कार्यक्रम अनुसार बन्द गरिएको हो ।
र्याली पार्टी कार्यालयबाट जरुवा टोलहुँदै राप्तीरोड, बसपार्क, बाईपास, भुटनदेवी मार्ग, टिसिएन रोड, सिमाचोक, स्कुल रोड, कान्तिराज पथ, संगम चोक, उद्योग वाणिज्य संघ चोक, बुद्ध चोक हुँदै पुनः राप्तीमा पुगेर र्याली समापन गरिएको थियो । र्यालीमा सहभागिहरुले “नेपाल बन्द सफल पारौँ”, “झुटा मुद्दा खारेज गर”, “हाम्रो माग पुरा गर”, “राजबन्दी रिहाई गर” लगायतका नारा लगाएका थिए ।